एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा, कपिलवस्तु बाट ७२ जनाको प्रतिनिधित्व

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व छनोटका लागि शनिबारबाट सुरु हुने पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश समितिले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो । अधिवेशन मंगलबार पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तयारी छ । बुटवलको रामनगर स्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा हुने अधिवेशनमा प्रदेशका १२ जिल्लाका प्रतिनिधि सहभागी हुने एमाले केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले बताइन् । अधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि र कार्यकर्ता बुटवलमा आउने क्रम सुरु भइसकेको छ ।

अध्यक्ष पदमा पाल्पाका राधाकृष्ण कंडेल, प्यूठानका हरि रिजाल र दाङका लक्ष्मण आचार्य प्रतिस्पर्धामा छन् । अन्तिममा कंडेल र रिजालबीच नै प्रतिस्पर्धा हुने सम्भावना बलियो छ । रिजाल अध्यक्ष लड्नका लागि केन्द्रीय सदस्य छोडेर प्रदेश प्रतिनिधिमा छनोट भएपछि उनलाई महासचिव शंकर पोखरेलले केन्द्रीय सदस्यबाट तल्लो पदमा अघि सारेको चर्चा बढेको छ । कंडेल भने प्रदेश अध्यक्ष बन्ने गरी यसअघि केन्द्रीय सदस्य नबनेको दाबी गर्दै आएका छन् । कंडेल उपाध्यक्ष विष्णु पौडेल निकट र रिजाललाई महासचिव पोखरेल निकट भन्दै एमाले कार्यकर्ताहरुले प्रचार गरिरहेका छन् ।

एमाले सचिव अर्यालले भने पार्टीको प्रदेश नेतृत्व समन्वय र समझदारीमै चयन हुने दाबी गरेकी छन् । ‘पार्टीले पूर्ण लोकतान्त्रिक विधि अनुसार सकेसम्म सर्वसम्मतमै नेतृत्व चयन हुनेछ,’ उनले भनिन्, ‘सर्वसम्मत हुन नसकेको अवस्थामा स्वस्थ्य प्रतिस्पर्धाको बाटो त खुल्लै छ ।’ एमालेले लुम्बिनी प्रदेश अधिवेशनबाटै पार्टीको लोकतान्त्रिक अभ्यासमा नमुना प्रदर्शन गर्ने पनि उनले दाबी गरिन् । एमालेले २०८० लाई अधिवेशन वर्ष भन्दै आगामी चैत भित्र प्रदेश, जिल्ला, पालिका र वडासम्मकै अधिवेशनहरु गर्ने गरी तयारी गरिरहेको छ । त्यसपछि केन्द्रीय अधिवेशन गर्ने पनि सचिव अर्यालले बताईन् ।

प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले एमालले प्रादेशिक संरचनामा गएपछि पहिलो पटक प्रदेश अधिवेशन गर्न लागेकाले पार्टीका लागि यो महत्वपूर्ण र ऐतिहासिक अधिवेशन हुने बताए ।

‘अहिले एमाले चौतर्फी घेराबन्दीमा छ,’ उनले भने, ‘यस्तो विषम परिस्थितिमा एमालेको यो प्रदेश अधिवेशनले एमालेको राजनीतिक जीवनलाई रक्त सञ्चार गर्नेछ ।’ त्यसका लागि प्रदेशका सबै जिल्लाबाट स्वस्थ्य प्रतिस्पर्धाका साथ प्रतिनिधि छनोट भएर आएको उनले बताए । एमालेको मापदण्डले सबै प्रतिनिधि भूगोलबाटै छनोट हुनु पर्ने बाध्यकारी बनाएको छ । त्यसैले अहिलेका अध्यक्ष कंडेल पाल्पाको रामपुर नगरपालिका र अध्यक्षका अर्का आकांक्षी रिजाल प्यूठानको नौबहिनी गाउँपालिकाबाटै प्रतिनिधि छनोट भएका छन् ।

अधिवेशनमा एमाले नेताहरु उपाध्यक्ष युवराज ज्ञवाली, विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिवहरु गोकण विष्ट, छविलाल विश्वकर्मा, पोलिटब्यूरो सदस्य, केन्द्रीय सदस्यहरुको उपस्थिति रहने एमालेले जनाएको छ । केन्द्रीय सचिव अर्याल अधिवेशन तयारीका लागि झण्डै दुई सातादेखि नै बुटवलमा छन् ।

एमालेले लुम्बिनी प्रदेशमा ८२ हजार ८ सय ९५ जना पार्टी सदस्य रहेको जनाएको छ । एमालेको अबको प्रदेश कमिटि २ सय ५ जनाको हुनेछ ।

यसअघि ५ सय ७६ सदस्यीय रहेको थियो । प्रदेश अधिवेशनका लागि रुपन्देहीबाट १ सय ६४, दाङबाट १ सय ३१, गुल्मीबाट १ सय ११, पाल्पाबाट ८३, अर्घाखाँचीबाट ८२, बर्दियाबाट ७४, कपिलवस्तुबाट ७२, प्यूठानबाट ५७, बाँकेबाट ५४, पश्चिम नवलपरासीबाट ५२, रोल्पाबाट २७, पूर्वी रुकुमबाट १२ र जनवर्गिय संगठनबाट ८३ गरी १ हजार ४ जना प्रतिनिधि छनोट भएर आएको प्रदेश प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation