
कपिलवस्तु । प्राणीशास्त्रीको भेलाले बृहत्तर लुम्बिनी क्षेत्रका पर्यापर्यटनको आकर्षण र सम्भावनालाई उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउनुपर्ने कुरामा जोड दिएका छन् ।
नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशद्वारा पक्षी आरक्ष जगदीशपुरमा आयोजित अन्तर्क्रियामा यस क्षेत्रका चरा, वन्यजन्तु, सरिसृप र उभयचर संरक्षण गरी पर्यापर्यटनको आकर्षण थप्न र पारिस्थितिकीय प्रणाली सन्तुलन राख्न सक्ने हुँदा यसतर्फ ध्यान दिन आग्रह गरेको छ । कपिलवस्तु, रुपन्देही र नवलपरासीमा पर्यापर्यटनको प्रशस्त सम्भावना हुँदा स्थानीय, प्रदेश र संघीय सरकारले नीति, योजना र कार्यक्रम बनाइ लागू गर्नुपर्ने कुरामा जोड दिइएको थियो । पर्यटन प्रवर्द्धनबाट स्थानीयका साथै राज्यले राम्रो लाभ लिन सक्ने सहभागीहरुको जोड थियो ।
लुम्बिनी प्रदेशका करिब सय जना प्राणीशास्त्री भेला भएको कार्यक्रममा लुम्बिनी पर्यटन परिषद्का कार्यकारी अधिकृत राजु जोशी, चराविद् कृष्णप्रसाद भूषाल र लुम्बिनी बौद्ध विश्वविद्यालयका सहायक डिन उकेशराज भुजुले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा प्राणीशास्त्रमा उल्लेखनीय भूमिका खेलेबापत ६ जनालाई सम्मान पनि गरिएको थियो ।
अन्तर्क्रियापछि आयोजित नेपाल जुलोजिकल सोसाइटी लुम्बिनी प्रदेशको अधिवेशनले पुनः बाबुराम बन्जाडेको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको छ । त्यस्तै, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षमा क्रमशः भेषराज चौधरी, कमलकुमार शर्मा, अम्मर केसी र श्रीराम पौडेल रहेका छन् ।
त्यस्तै, सदस्यमा हिराबहादुर राना, विवेक डिसी, अंकितकुमार सिंह, अब्दुल हामिक खान, विशाल आचार्य र शिवराज न्यौपाने रहेका छन् ।कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीले गरेका थिए । -कान्तिपुर