रुपन्देही ट्राफिक प्रहरीद्वारा एक सातामा १६ सय नम्बर प्लेट सुधार

भैरहवा  ।  रुपन्देही जिल्ला ट्राफिक प्रहरीले गाडीका नम्बर प्लेट सुधार अभियान सञ्चालन गरेको छ । नम्बर प्लेट स्पष्ट नहुँदा गाडी पहिचानमा समस्या भएपछि यस्तो अभियान सञ्चालन गरिएको हो । अभियान सञ्चालन गरेको एक सातामा करिब एक हजार ६ सय गाडी र मोटरसाइकलको नम्बर प्लेट सुधार गरिएको कार्यालयले जनाएको छ ।

अभियानका क्रममा साना–ठूला गरी १ हजार ५ सय ७२ सवारीका साधनको नम्बर प्लेट सुधार गरिएको जिल्ला ट्राफिक प्रमुख बजिरसिंह विष्टले जानकारी दिए । नम्बर प्लेट प्रष्ट नदेखिने र विभिन्न संकेत राखिएका नम्बर प्लेट सुधार गरिएको उनले बताए । ट्राफिकले जिल्लाभर यस्तो अभियान सञ्चालन गरेको छ । ठाउँ–ठाउँमा जाँच गरेर तुरुन्तै नम्बर प्लेट सुधार गर्न लगाएर मात्रै छाड्ने गरिएको विष्टले जनाए । पहिलो चरणमा अभियान सोमबारसम्म सञ्चालन गरिएको थियो । अभियानलाई निरन्तरता दिइने ट्राफिक प्रहरीले जनाएको छ ।

‘पहिलो चरणमा अभियान चलाएर सवारी धनीलाई नम्बर प्लेट सुधार गर्ने मौका दिएका छौं’, विष्टले भने, ‘अझैं सुधार नगरे कारबाहीको दायरामा ल्याउँछौं ।’ पहिलोपटक नम्बर प्लेट मेटिएका र विभिन्न संकेत राखेकालाई सुधार गर्न लगाएर ट्राफिक नियमबारे सम्झाई बुझाई छाडिएको उनले बताए । ‘त्यस्ता सवारी रोकेर तत्काल नम्बर प्लेट सुधार गर्न लगाएर छाडेका छौं’, ट्राफिक प्रहरी प्रमुख विष्टले भने, ‘पहिलो चरणको अभियानबाट धेरैलाई सचेतना फैलायौं, दोस्रो चरणमा जरिवानासहित कारबाही गर्छौं ।’

ट्राफिक प्रहरीका अनुसार सबैभन्दा बढी मोटरसाइकलका नम्बर प्लेट नबुझिने र विभिन्न संकेतहरु राखिएको पाइएको छ । योसँगै, कार, ईरिक्सा, टेम्पो, टयाक्टर, टिपर लगायतका ठूला सवारीका पनि नम्बर प्लेट नबुझिने गरेका छन् । यस्ता सवारीलाई तत्काल रोकेर नम्बर प्लेट सुधार गर्न लगाइँदै आएको छ । खासगरी नम्बर प्लेटहरुमा बढी मात्रामा राष्ट्रिय झण्डाको स्टिकर राख्ने गरिएको छ । यससँगै ओमशान्ति लेखिएको र अन्य विभिन्न चिन्ह पनि राखेको पाइएको ट्राफिक प्रहरीको भनाइ छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation