
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका– १ पकडी स्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको छ।
मंगलबार राति १० बजेतिर स्थानीय २२ बर्षिया नसिमा खातुन आफ्नै घरको बरन्डामा रहेको खाटमा मृत फेला परेकी थिइन। घटना लगत्तै प्रहरीले मृतक महिलाका श्रीमान् प्रबेजआलम धुनिया, सासू साजिामा धुनिया, ससुरा जाकिर हुसने धुनिया, देवर तरबेज अहमद, नन्द रुक्सार खातुनलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए।
उनले महिलाको मृत्यु शंकास्पद देखिएकाले उनीहरुलाई नियन्त्रणमा लिइएको बताए। मृतकको घाटीमा निल डाम देखिएको र महिलाको मृत्युको खबर माइती पक्षबाट आएकाले घटना शंकास्पद रहेको थापाले बताए। उता मृतक महिलाकी आमा भारतको सिद्धार्थनगर थाना मोहोना पोस्ट बर्डपुर १० मदरापुरकी आशिया खातुनले ज्वाइँ प्रबेज आलम र सम्धिनी साजिामा धुनिया विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी समेत दिएकी छिन्।
घटनामा नियन्त्रणमा लिइएको सबै जनासँग प्रहरीले सोधपुछ गरेको थापाले बताए। मृतकका श्रीमान् र सासूविरुद्ध किटानी जाहेरी परकोले ती दुई जनामाथि मुद्दा चलाइने अन्यलाई बोलाएको बखत हाजिर हुने गरी रिहा गरिने थापाले बताए।
घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमर्टमकालागि कपिलवस्तु अस्पताल पठाइएको छ। -नागरिक अनलाइन