दसैं खर्च खोज्दै दैलेखका राउटेहरुको टोली लुम्बिनीका मुख्यमन्त्री सङ्ग

बुटवल । फिरन्ते जीवन विताइरहेका दैलेखका राउटे समुदायका प्रतिनिधिले बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन् । मुख्यमन्त्री भेटघाटकै लागि दैलेखबाट आएका राउटेहरुका मुखिया बिर्खेबहादुर शाही नेतृत्वको टोलीले मुख्यमन्त्री कार्यालय देउखुरीमै भेटघाट गरेको हो ।

भेटघाटमा राउटे समुदाय सरकारबाट उपेक्षित भएको उनीहरुले गुनासो गरेका छन् । उनीहरुले चाडपर्व नजिकिँदै जाँदा समुदाय नै खर्च अभावमा तड्पिनु परेको र सरकारले कुनै सहयोग नगरेको उनीहरुले बताए । मुखिया शाहीले आफूहरु दैलेखबाट सरकारसँग दसैं खर्च माग्न आएको बताए ।

‘अब दसैं आइसक्यो, हाम्रो जनताले दसैंमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ,’ उनले मुख्यमन्त्रीसँग भने, ‘तर, राउटेसँग पैसा छैन्, सरकारले दसैं मान्ने खर्च दिनुपर्‍यो ।’ राउटेको ८६ घर जनता भएकाले सरकारले दसैं मान्न २ लाख रुपैयाँ खर्च दिनुपर्ने माग गरेको उनले बताए । सरकार र मन्त्रीहरुले दिएको दसैं खर्च समुदाय बसेर बाँडेर खाने पनि उनले बताए ।

शाहीका अनुसार उनीहरु तीज खर्चसमेत जुटाउने गरी देउखुरीमा आएका थिए । तर, सरकारका मन्त्री र मुख्यमन्त्री भेट्न नपाउँदै तीज सकिएकाले दसैंका लागि खर्च मागेका हुन् । मुख्यमन्त्री चौधरीले सरकारले राउटे समुदायको लागि सहयोग गर्न आफू सकारात्मक रहेको बताएका छन् । सरकारसँग राउटेका लागि रकम नभएपनि अन्य व्यवस्थापन गरेर राउटेको दसैं खर्च उपलब्ध गराउने उनले बताए ।

‘दैलेखबाट सरकारसँग सहयोग माग्नै भनेर आएपछि केही त गर्नै पर्‍यो,’ उनले भने, ‘उहाँहरुको मागमा हामी सकारात्मक छौं, थोरै धेरै केही सहयोग गर्छौं ।’ राउटेहरुलाई पहिलेदेखि नै सरकारले दसैं खर्च दिँदै आएको इतिहास पनि भएकाले सहयोग गर्ने उनले बताए ।

राउटेहरुको अर्थमन्त्री धनबहादुर मास्की, प्रमुख सचिव राधिका अर्यालसहित मुख्यमन्त्री चौधरीलाई भेटेका हुन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation