
पाल्पा । सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका-३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् ।
पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट आएको संक्रमण नभइ गाउँमै लामखुट्टेको टोकाइबाट भएको हो । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो सात वर्षयता स्थानीयस्तरमा लामखुट्टेको टोकाइबाट मलेरिया पोजिटिभ देखिएको थिएन । ‘भारत लगायत तेस्रो मुलुकबाट आउने बिरामीमा भेटिने गरेको थियो,’ स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत मधुसुधन भट्टराईले भने, ‘तर स्थानीयस्तरमै देखिएको केस यो धेरै वर्षपछिको पहिलो हो ।’
संक्रमित किशोरले १७ दिनसम्म औषधि खानुपर्ने हुन्छ । किशोरको अवस्थामा भने सुधार भइरहेको पूर्वखोला स्वास्थ्य चौकीका प्रमुख श्रीराज आचार्यले बताए । पूर्वखोलामा देखिएको मलेरिया पोजिटिभ अन्तबाट सरेर आएको नभइ गाउँमै लामखुट्टेले टोकेर देखिएको पुष्टि भएको उनले बताए ।
संक्रमित किशोरलाई ज्वरो आएको र स्थानीय स्वास्थ्य चौकीमा आरडीटी गर्दा पोजिटिभ देखिएको थियो । स्वास्थ्य कार्यालयमा खबर गरेपछि पुनः जाँच गरियो । स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन अधिकृत भट्टराईका अनुसार माइक्रोस्कोपीबाट पुनः जाँच गर्दा पुष्टि भएपछि केस बेस सर्भिलेन्स गरिएको छ ।
पूर्वखोला स्वास्थ्य शाखा प्रमुख मोहन ढकालका अनुसार गाउँका ५० घर वरपरका ९८ जनामा आरडीटी जाँच गरिएको छ । उनका अनुसार एक-दुई दिनमै भेक्टर सर्भिलेन्स गरिनेछ । आयातित मलेरिया भने गत वर्ष ६ जना र यो वर्ष दुई जनामा देखिइसकेको छ । गत वर्ष रामपुर नगरपालिका-१० गेझाका दुई, तानसेनका दुई र माथागढीका दुई जनामा मलेरिया देखिएको थियो ।
तानसेनको मदनपोखरा र असनटोल, माथागढीको हात्तीलुङ र कसेनीमा देखिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताए । यो वर्ष कसेनीमा दोहोर्याएर देखिएको छ । अर्को एक जना माथागढीकै हात्तीलुङका हुन् ।
‘अधिकांशको भारतबाट फर्केका र कसेनीको एक जनामा लेबनानबाट फर्केको केही दिनपछि देखिएको थियो,’ उनले भने ।