निर्विवेकी बिधाताको रचना, आयो टप्प टिप्यो लयो !

सागर बेल्बासे,कपिलवस्तु ।

श्रम बेचेरै भएपनी भौतिक सुख सयल र सबैमाझ गर्भ गर्न धेरै मानिस मातृभुमिलाइ छाडेर अमेरिकाको गन्तव्यमा रमाउने चलन मौलाएकै छ। शैक्षिक यात्रामा नेपालका विभिन्न तहगत शिक्षाका तगारा पार गर्दै रसायन शास्त्रको विद्यावारिधी गर्न टप्स युनिभर्सिटी अमेरिका पुगेका रोम बरालले आफ्नो अध्यनकै शिलशिलामा आफुमा आश्रीत लालाबाला समेत अमेरिका पुराउने सफलता संगै सोही कलेजमा अद्यापनकै अवसर समेत प्राप्त गर्नु भएको थियो।करिब ६ बर्षको अमेरिकी बसाइ संगै बरालको मनमा आफ्नो योग्यताको पसिना बिदेसी भुमिमा हैन मातृभुमिमै बगाइ समाज रुपान्तरणको अभियानमा लाग्नुपर्ने कुराले उकुसमुकुस गराउँदा आफ्नी धर्मपत्नी संगै पुन नेपाल फर्कनु भयो।नेपाल फर्केपछी राजधानी काठमाडौ मै बसि करिब एक दशक राजधानी का नामुक कलेज त्रीचन्द्र, अक्सल, ग्लोबल, सिद्दार्थ लगायतका कलेजहरुमा अध्यापन गराउनु भयो।

गुल्मी जिल्लाको साबिक ग्वादी ७ हालको रुरु गाउँपालिका २ मा २०३०/११/२० गतेका दिन पिता चक्रपाणी र माता बल्लभी बरालकोको कोखबाट पार्दुभाव हुनुभएका बराल करिब २०४७ सालमा कपिलवस्तुको बाणगङ्गा नगरपालिका–२ पिपरामा बसाइ सरि आउनुभएको हो। राजधानीमै अद्यापन गराइरहंदा आफनै गाउँ घरमा आफ्नो योग्यता लाई सदुपयोग गर्ने चाहाना पलाएका बराललाई जनता नमुना उच्च माध्यमिक बिध्यालयले पूरा गर्ने प्रयत्न गर्दा सोही बिद्यालयको बिज्ञान संकाय प्रमुख हुँदै समाज रुपान्तरणको अभियान्ता सम्मको परिचय दिलाएको थियो।

नेपाली प्रजातान्त्रिक इतिहासमा प्रजातन्त्रको बिजारोपण गरेका दलहरुको पछिल्लो नेतृत्वकर्ताको यथास्थितिवादी चरीत्रका हालिमुहालीमा बेथिति र बिसंगतिले बिक्षिप्त देश र जनताको अवस्थाको दैनिक जिवनचर्यामा आमूल परिवर्तनको खांचो महसुस गरि सांच्चिकै सुशासन र समृद्धि को सपना साकार पार्ने उदेश्यले पछिल्लो समय राजनैतिक हिसाबले राष्ट्रिय स्वतन्त्र पार्टी को सदस्यता ग्रहण गरि लुम्बिनी प्रदेश सदस्यमा अत्यधिक मत सहित निर्वाचित हुनुभएको थियो। प्राज्ञिक,शालिन ,बौद्धिक र साधारण जिवनशैलिका बरालले पार्टीको लुम्बिनी प्रदेश शिक्षा बिभाग प्रमुखको जिम्मेवारीमा रहि महत्त्वपूर्ण योगदानमा अनवरत कार्यसम्पादन गरिरहनुभएको थियो। सबै माझ मिजास पुर्वक प्रस्तुत हुने बराल को निधनले परिवार, इस्टमित्र, आफन्तजन, पार्टी संगठन र सिङ्गो समाज लाई अतुलनीय क्षतीका साथ मर्माहत बनाएको महसुस हुंदा मृत्युप्रयन्तको समबेदना र श्रद्धाञ्जलीका निम्ति पार्टीका लुम्बिनी प्रदेश संगठन बिभाग प्रमुख गणेश पौडेल उपसभापति शालिकराम घिमिरे कोषाध्यक्ष दुर्गा अर्याल ,प्रवक्ता कमल पोख्रेल रुपन्देही जिल्ला सभापति डाक्टर बुद्दी प्रसाद शर्मा लगायतको टोलि सहित जिल्लाका सबै पालिका, वडा, क्षेत्र लगायत का अत्यधिक नेता कार्यकर्ताले अन्तिम संस्कारमा सागरमै बरालको संक्षिप्त जिवनी, समबेदना, श्रद्धाञ्जलीका साथ मौन धारण गरिएको थियो। साथै ३ दिन सम्म कपिलवस्तुमा कुनै पनि औपचारिक कार्यक्रम नगरी वडा देखि जिल्ला कार्यालय सम्मका झण्डा आधा झुकाएर राखिने कुरा शोक तथा श्रद्धाञ्जली व्यक्त गर्दै जिल्ला सभापति शिव कुमार सुवेदीले जनाउनुभएको थियो।

सागरमा उपस्थितहरुमाझ बाणगङ्गा नगर सभापति बुद्दिशागर बेल्बासेले स्वर्गीय रोम को संक्षिप्त जिवनी सहितको श्रदा सुमन अर्पण गर्नुभएको थियो।स्वर्गीय बरालको सदैको शालिनता र सरलता सबैका लागि महत्त्वपूर्ण प्रेरणाको श्रोत भएको विद्यार्थी कालदेखीका सहपाठी डिल्लिराज बेल्बासे र प्रकाश घिमिरेलेले सागरमै जनाउनु भएको थियो। रुपन्देही बाट आउनुभएका उहाँहरुले थप्नुभयो उहाँको निधनको खबर विभिन्न माध्यमबाट थाहा पाउँदा पत्यारै लागेन, अझैपनी उहाँप्रती श्रद्धाञ्जली लेख्ने हिम्मत आएको छैन। धेरै कोणबाट नगन्य पात्रको रुपमा रहनुभएका स्वर्गीय रोम को महाप्रस्थानको खबरले उपस्थित भएका बहुसंख्यक उपस्थितिको आँखा सुकिलो थिएन नै।

निर्बिबेकी बिधाताको रचना आयो टप्प टिप्यो लयो, अनगिन्ती आत्मा र हातहरुको अनुनय बिनय टारेर टरेन नै त्यो।शिक्षा र श्रमको माध्यम बाट समाज रुपान्तरण गर्ने उदेश्य बोकि मातृभुमी उदाएका परिवर्तनका एक नक्षत्र आफ्ना धेरै सपना अधुरो छाडी अस्ताउनु पर्दा परिवार, आफन्त ,पार्टी ,शिक्षा क्षेत्र र सिङ्गो समाज लाइ अतुलनीय क्षती पुगेको छ। उहाँका अधुरा सपना सांच्चिकै पूरा गर्नका निम्ति अब पहिला सिङ्गो समाजले एकढिक्का भै उहाँमा आस्रित उहाँका धर्मपत्नी श्रीधरा बराल,पुत्ररत्न रबिन बराल,पुत्रीरत्न एलिसा बरालको जिवनमा आइपर्ने हरेक सुख दुःख मा सहयोग र सहानुभूति राख्नु नै उहाँ प्रतिको सच्चा श्रद्धाञ्जली हुने छ। स्पस्ट बिचार, कर्तब्यनिष्ठ, कर्मनिष्ठ रोम बरालको स्वर्गारोहणबाट भावबिहिल र मर्माहत सबैको यो शोकको घडिमा शोक लाई शक्तिमा बदल्ने सामार्थ्य हामि सबैमा मिलोस। मृतक रोम बरालको आत्माले सदैब चिर शान्तीका साथ बैकुण्ठमा सयन गर्ने अवसर मिलिरहोस। हार्दिक श्रद्धा सुमन ! हार्दिक श्रद्धाञ्जली रोम सर !!

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation