रोल्पाको गंगादेवका तत्कालीन उपाध्यक्ष सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाका तत्कालीन उपाध्यक्ष रिता घर्ती, निमित्त प्रमुख प्रशासकीय अधिकृत सकलदेव यादवसहित १३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

गंगादेवको घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङको खानेपानी निर्माण योजनामा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले १३ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत (जनस्वास्थ्य निरीक्षक) सकलदेव यादव, योजना अधिकृत कृष्णबहादुर घर्ती, तत्कालीन इन्जिनियर नवीन डाँगी, सब इन्जिनियर रोशनी विष्ट, खानेपानी तथा सरसफाइ टेक्निसियन बल बहादुर बस्नेत, उपभोक्ता समितिका अध्यक्ष मनबहादुर डाँगी, सचिव खडक बहादुर डाँगी र कोषाध्यक्ष चन्द्रकुमारी डाँगी विरुद्ध मुद्दा दायर भएको छ ।

यसैगरी गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्ती, वडा नम्बर २ का तत्कालीन वडाध्यक्ष भुपाल दमाई, वडा सदस्य टिका विक, गनबहादुर भण्डारी र वडा सचिव कुलबहादुर योगीविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको प्रवक्ता भोला दाहालले जनाएका छन् ।

उनीहरुले आर्थिक वर्ष २०७६/७७ मा लगत अनुमान तयार भएर गाउँपालिकाबाट रकम विनियोजन एवम् उपभोक्ता समितिबीच सम्झौता गरी वास्तविक भएको कामभन्दा बढी काम गरेको भनी गलत प्रतिवेदन दिएर बढी भुक्तानी लिएको आरोप छ ।

उनीहरुले ४ लाख ६६ हजार ४८८ रुपैयाँ गैरकानुनी ढंगले लिने–दिने गरेको आरोप छ । आयोगले उनीहरूविरूद्ध भ्रष्टाचार निवारण ऐन २०५९को दफा ८ को उपदफा १ को ग र ङ बमोजिमको कैद र बिगो जरिवानामा माग दाबी गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation