सामाजिक सद्भाव बिथोल्नेबाट सचेत रहौं : उपमहासचिव ज्ञवाली

बाँके । नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सामाजिक सद्भाव खलबल्याउने षड्यन्त्रविरुद्ध सचेत रहनुपर्ने बताउनुभएको छ ।

एमाले बाँकेले पालिका कमिटीका पदाधिकारीका लागि आयोजना गरेको तीन दिने आधारभूत तहको स्कूलको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै उपमहासचिव ज्ञवालीले सो कुरा बताउनुभएको हो ।

मुलुकभित्र सामाजिक तथा धार्मिक सद्भाव खलबल्याएर अशान्ति मच्चाउन खोज्नेविरुद्ध आम नागरिक एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘नेपालगञ्जमा सामाजिक तथा धार्मिक सद्वभाव कायम राख्न दुबै पक्षका धार्मिक अगुवा, नागरिक समाजका अगुवा, राजनीतिक दल र आम नागरिकको भूमिका प्रशंसनीय छ ।’

राजनीतिक अधिकार प्राप्तिको मिसन पूरा भएको भन्दै ज्ञवालीले अबको मिसन समृद्ध देश बनाउने रहेकाले यसका लागि बलियो राष्ट्रवादी राजनीतिक शक्तिको आवश्यकता पर्ने बताउनुभयो ।

उहाँले सरकार टिकाउन वर्तमान सरकार विभिन्न शक्ति केन्द्रसँग झुकेको भन्दै राज्य सन्तुलित बन्न नसक्दा राष्ट्रियता नै जोखिममा परेको दावी गर्नुभयो । ज्ञवालीले युवा शक्तिहरु स्वदेशमा अवसर नपाइने अवस्थाले विदेश पलायन भइरहेको भन्दै यसबाट नागरिकमा तीव्र आक्रोश देखिएको बताउनुभयो ।

एमालेका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश स्कुल विभागका संयोजक लक्ष्मण ज्ञवालीले बलियो पार्टीका लागि स्कुल विभाग बलियो हुनुपर्ने मान्यताका साथ नियमित र व्यवस्थित स्कुल सञ्चालन गर्न लागिएको बताउनुभयो । उहाँले बाँके, दाङ र बुटवलमा केन्द्र राखेर प्रदेशका स्कुल सञ्चालन गरिने बताउनुभयो ।

एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष तथा स्कुल विभाग प्रमुख डिल्ली बिसीले शुल्क लिएर पहिलो चरणमा पालिका कमिटीका पदाधिकारीको सहभागितामा प्रदेशमै पहिलो पटक स्कुल सञ्चालन गरिएको जानकारी दिनुभयो ।

एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटनमा केन्द्रीय सदस्य खेममान खड्का, मो. हारुन, शान्ति ढकाल, केन्द्रीय सल्लाहकार देवराज भार, लेखा आयोगका सदस्य विजया धिताल, प्रदेशसभा सदस्य रत्न खत्रीलगायतको उपस्थिति छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation