इजरायलमा दिवंगत विद्यार्थीको सम्झनामा नेविसंघ वाणगंगाद्धारा दीप प्रज्जवलन

उपकार अनलाई, कपिलवस्तु ।
नेपाल विद्यार्थी संघ वाणगंगा नगर कार्यसमितिले इजरायलमा दिवंगत विद्यार्थीको सम्झनामा दीप प्रज्वलन गरेको छ । घरको सपना बोकेर अध्ययन गर्न इजरायल गएका विद्यार्थीको अकस्मात् भएको निधनले समग्र मुलुकलाई स्तब्ध बनाएको भन्दै उनीहरुको सम्झना र सम्मानमा वडा नम्बर ८ बोडगाउँ चोकमा दीप प्रज्वलन गरिएको नगर कार्यसमितिले जनाएको छ ।

नगर कार्यवाहक सभापति सोना पाण्डेको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य टिआर पाण्डे प्रमुख अतिथि थिए भने पार्टीका अन्य नेताको पनि सहभागिता थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाण्डेले इजरायलमा भएको विद्यार्थीको निधनले आफ्नो संगठन निकै दुखी भएको बताउँदै मुलकमा रोजगारी र अवसर नहुँदा यस्तो स्थिति भोग्नु परेको बताए ।

दीप प्रज्वलनमा पार्टीका नेताहरु दुर्गा केसी, डोलकराम घिमिरे, विमला गैरे, कुलराज पौडेल, कृष्णप्रसाद न्यौपाने, रविराज आचार्यको सहभागिता थियो भने विद्यार्थीको तर्फबाट सिद्धार्थ क्याम्पसका स्ववियू सभापति नील कमल थारु, कोषाध्यक्ष मनोज न्यौपाने, नेविसंघ बाणगंगा नगर सचिव अमृत गिरि, सदस्यहरु प्रदीप भट्टराई, किरण भण्डारीलगायतको सहभागिता थियो ।

कार्यवाहक सभापति तथा कार्यक्रम संयोजक सोना पाण्डेले सहभागि सबैलाई धन्यबाद दिँदै राज्यले नेपाली विद्यार्थी र युवालाई अबदेखि बाहिर जानबाट रोक्नुपर्ने बताइन् । मृतकप्रति श्रद्धाञ्जली दिँदै उनले मुलकमा रोजगारी सिर्जना गर्न सबै तहका सरकारले समयमै काम गर्नुपर्ने बताइन् ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation