प्युठानमा ४ दिनदेखि हराइरहेका आमा–छोराको शव भेटियो

प्युठान । जिल्लाको नौबहिनी गाउँपालिका–३ खवाङमा आमाछोरा मृत अवस्थामा फेला परेका छन् ।

स्थानीय २२ वर्षीया रीमा बुढामगर शुक्रबार र उनका ३ वर्षीय छोरा मुस्कान बुढामगर शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घरदेखि झण्डै १५० मिटर नजिकको भीरमा आमा छोराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक हुमानन्द खनालले जानकारी दिए ।

उनका अनुसार आमाको शव भेटिएको देखि ४० मिटर टाढा छोराको शव भेटिएको छ । उनीहरु दुबैजना कात्तिक २७ गतेदेखि हराइरहेका थिए । उनीहरु हराएको खबर प्रहरीले छिमेकीहरुबाट पाएको थियो । शव भेटिएको खबर पनि प्रहरीलाई स्थानीय बासिन्दाले नै दिएका थिए ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख ईश्वर थापा नेतृत्वको टोली पुगेर अनुसन्धान गरिरहेको छ । ‘विस्तृत जानकारी आएको छैन, हामी अनुसन्धानकै सिलसिलामा छौं’ प्रहरी निरीक्षक खनालले भने । मृतक महिलाका श्रीमान घरमा नै रहेको खुलेको तर पारिवारिक अवस्थाबारे पनि विस्तृत विवरण आइनसकेको उनको भनाइ छ ।

© 2023 Upakar Online All right reserved Design & Devloped By : Himal Creation