तीनकुने र बल्खुमा गाडी चल्न थाले, प्रदर्शन भएका ठाउँमा अवस्था समान्य

काठमाण्डाै । नेकपा एमालेको भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट व्यवसायी दुर्गा प्रसाईंको आह्वानमा काठमाण्डौमा छुट्टाछुट्टै प्रदर्शन र आमसभा भएकाे छ ।

युवा सङ्घले तीनकुनेमा र प्रसाईं समूहले बल्खुमा सभा तथा प्रदर्शन गरेका हुन् । प्रदर्शन र आमसभाका कारण बिहानदेखि नै तीनकुने र बल्खु क्षेत्रमा गाडी चल्न सकेका थिएनन् । अहिले दुवै ठाउँकाे कार्यक्रम सकिएकाे र गाडी चल्न थालेका प्रहरीले जनाएकाे छ । प्रदर्शन भएका ठाउँकाे अवस्था अहिले सामान्य रहेकाे छ।

प्रदर्शनका क्रममा आज दिउँसाे बल्खुमा दुई पटकसम्म झडप भएको थियो । बल्खुबाट प्रसाईंका समर्थक प्रहरीको घेरा तोडेर कालिमाटीतर्फ जान थालेपछि झडप भएको हो । प्रसाईंले अब सहर छिर्ने भन्दै घोषणा गरेपछि उत्तेजित भीडले प्रहरीलाई ठेल्दै कालिमाटीतर्फ जाने प्रयास गरेको थियो । प्रहरीले अश्रुग्यास र पानीको फोहरा हानेर भीडलाई नियन्त्रणमा लिएको छ ।

यस्तै दिउँसो केहीबेर बल्खुमा युवा सङ्घका कार्यकर्ता र दुर्गा प्रसाईं समर्थकबीच झडप भएको थियो । झडपमा केही गाडीमा तोडफोड भएको छ । ग्यारेजभित्र मर्मतका लागि राखिएका मोटरसाइकलमा समेत केही उच्छृङ्खल युवाले सडकमा ल्याएर तोडफोड गरेका थिए । ती युवा कुन समूहका हुन् भन्ने खुलेको छैन ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation