बुटवल । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका छन् ।
शुक्रबार तिलौराकोट पुगेका मन्त्री किरातीले तिलौराकोटलाई राष्ट्रिय गौरवको आयोजनामा राखेर छिटोभन्दा छिटो विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।
तिलौराकोट दरबार क्षेत्र गौतम बुद्धले २९ वर्ष बिताएको स्थान हो । विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि आवश्यक संरक्षित स्मारक क्षेत्र घोषणा गर्नुपर्ने आवश्यकतानुसार नेपाल सरकार पुरातत्व विभाग, लुम्बिनी विकास कोष र कपिलवस्तु नगरपालिकाले संयुक्तरूपमा स्थानीयस्तरको छलफल गरेसँगै उक्त कामको थालनी भएको लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारकयाल लामाले बताए ।