सेवाप्रवाह प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री चौधरीको निर्देशन

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सेवाप्रवाहलाई प्रभावकारी बनाउन मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन् ।बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको सचिवहरुको बैठकमा उनले कामको गति सुस्त भएको र भनेअनुसार उपलब्धि हुन नसकेको भन्दै प्रभावकारी काम गर्न निर्देशन दिएका हुन् । मुख्यमन्त्री चौधरीले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रगति र खर्च सन्तोषजनक नदेखिएको भन्दै असन्तुष्टि पोखे ।

‘सरकारको कामको गति सुस्त भयो,’ मुख्यमन्त्री चौधरीले भने, ‘अब राम्रोसँग काम गरौं, उपलब्धि बढाऔं र भएको प्रगति सार्वजनिक गरौं ।’

मन्त्रालयका १० जना सचिव र महाशाखा प्रमुख सहभागी बैठकमा मन्त्रालय र मातहको कार्यालयको सेवा प्रवाह प्रभावकारी र छिटोछरितो बनाउन आवश्यक रहेकोमा उनले जोड दिए । सेवा, उपलब्धि बढाउनुपर्ने, मन्त्रालयको लक्ष्य र उद्देश्यमा रहेर नीति निर्माण गर्नुपर्ने र सोही अनुसार काम गरी परिणाम देखाउनुपर्ने उनको भनाइ थियो ।

प्रदेश सरकारका योजना कार्यान्वयनका लागि अन्तरमन्त्रालयबीच समन्वय बढाउनुपर्ने पनि मुख्यमन्त्री चौधरीले बताए । बैंठकमा प्रमुख सचिव राधिका आर्यालले मुख्यमन्त्रीको निर्देशनलाई कार्यान्यवन गर्न सचिवलाई अनुरोध गरिन् ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation