
पाल्पा । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशमा मन्त्रालय नथप्ने अडान यथावत रहेको बताएका छन् । नेपाल प्रेस युनियन पाल्पाले आइतबार तानसेनमा राखेको पत्रकार भेटमा बोल्दै सभापति पुनले मुख्यमन्त्रीसहित १० मन्त्रालय यथावत रहेकाले थप्न नहुने बताए ।
‘आठ दलको सरकार छ, सबैलाई भागबन्डा पुर्याउनुपर्ने हुन्छ,’ उनले भने, ‘सबैलाई धेरै चाहियो भनेर अझ दुईटा मन्त्रालय थप्न प्रस्ताव आएको छ । पार्टीले नीतिगत रुपमा १० भन्दा बढी बनाउन हुँदैन भन्ने छ ।’ सभापति पुनले मन्त्रालय थप्ने कुनै कारण नरहेको बताउँदै अहिले भएका मन्त्रालयलाई पूर्णता दिएर काम गर्न सुझाव दिएको बताए । अहिलेको अवस्था अर्थतन्त्र डामाडोल भएको र यस्तो अवस्थामा मन्त्रालय र मन्त्री थपेर जनताको इच्छा, आकांक्षा पूरा नहुने उनले बताए ।
मंसिर १६ र १७ गते रुपन्देहीको बुटवलमा हुने कांग्रेसको लुम्बिनी प्रदेशको सम्मेलनपछि तत्कालै मन्त्रिपरिषद्ले पूर्णता पाउने विश्वास सभापति पुनको छ । उनले लुम्बिनी प्रदेशका १२ जिल्लालाई केन्द्रविन्दुमा राखेर जनताको माग सम्बोधन गरेर सरकार अघि बढ्नुपर्ने उनले जोड दिए ।
उनले कतिपय अवस्थामा माओवादीले बराबरी भाग माग्दा मन्त्रिपरिषद् बिस्तारमा समेत समस्या भएको बताए । ‘मन्त्रिपरिषद् विस्तारका विषयमा केन्द्रीय नेतृत्वसँगसमेत कुराकानी भइरहेको छ,’ उनले भने, ‘कांग्रेस र माओवादी पार्टीको नेतृत्वसँग यस विषयमा छलफल भएकाले सम्मेलनपछि नै मन्त्रिपरिषद् विस्तार हुनेमा पूर्ण विश्वस्त छु ।’ लुम्बिनी प्रदेशमा अहिले सात सदस्यीय मन्त्रिपरिषद् रहेको छ ।
सहमतिअनुसार माओवादीले थप दुई र कांग्रेसले थप ३ मन्त्रालय पाउनुपर्ने हुन्छ । तर बाँकी तीमन्त्रालय मात्रै छ । जसले गर्दा भागबन्डा पुर्याउन दुई मन्त्रालय थप्नुपर्छ । हाल लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट मुख्यमन्त्री चौधरीसमेत दुई, माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमतबाट एक/एक जना मन्त्री रहेका छन् ।