ढुण्डी थरुनी स्मृति कप भलिवलको उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने, पहिलो खेलमा रुपन्देही र पाल्पा भिड्दै

उपकार अनलाईन, सैनामैना ।
रुपन्देहीको सैनामैना –६ कलौनीमा सञ्चालन हुने ढुण्डी थरुनी स्मृति कप अन्तरजिल्ला स्तरीय भलिवल प्रतियोगिताको उद्घाटन लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने आयोजकले जनाएको छ । मंगलवार (भोली) दिउँसो १२ बजे मुख्यमन्त्री चौधरीद्धारा उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले पत्रकार सम्मेलन गरि आज जानकारी दिएको हो । प्रतियोगिता दुधराक्ष युवाक्लबको आयोजनामा भोली मंगलबार देखि १६ गतेसम्म सञ्चालन हुनेछ ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकास भट्राईले खेलकुद र खेलाडिको प्रोत्साहन क्लवहरुले गरेको भन्दै आफुहरुको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै उहाले खेल क्षेत्रको प्रबद्र्धनका लागि प्रदेश खेलकुद परिषद् लागेको समेत जानकारी गराउनुभयो ।

प्रतियोगिताले भलिबल खेलको विकासमा टेवा पुग्ने साथै युवा खेलाडीलाई प्रोत्साहन, राष्ट्रिय खेललाई प्रचारप्रसार र खेलाडीहरुलाई अवसर दिने क्लबका अध्यक्ष किरण पोखरेलले बताउनुभयो । प्रतियोगिताको खेल मैदान, टिम दर्ता, प्याराफिट र मंच निर्माणको काम पुरा भएको उहाँले बताउनुभयो । दर्शकलाई अवलोकन सहज हुने गरि करीब २ हजार क्षमताको अस्थाई प्याराफिट बनाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतियोगिताको उपाधी विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ ट्रफी,प्रमाणपत्र, उपविजेतालाई नगद ७७ हजार ७ सय ७७ रुपियाँ, ट्रफी, प्रमाणपत्र, तृतीय टिमलाई नगद ४४ हजार ४ सय ४४ रुपियाँ, ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक विष्णुप्रसाद पाण्डेले बताउनुभयो । यसैगरी सान्त्वना टिमलाई नगद २२ हजार २ सय २२ रुपियाँ, ट्रफी प्रमाणपत्र, विधागत उत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपियाँ तथा सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार ५ सय ५५ रुपियाँबाट पुरस्कृत गरिने उहाँले जानकारी दिनुभयो ।

खेलमा लुम्बिनी प्रदेश र अन्य जिल्लाका गरी १० टिमहरुको सहभागिता हुने छ । प्रतियोगिता सञ्चालन गर्न १६ देखि १८ लाख रुपियाँ खर्च हुने आयोजक क्लबका सचिव पदम पाण्डेले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न सैनामैना नगरपालिका, प्रदेश खेलकुद परिषद लुम्बिनी, रुपन्देही भलिबल संघ रुपन्देही, सैनामैना नगर खेलकुद समिति, लगाएत विभिन्न ब्यक्ति तथा संस्थाको सहयोग मिलेको उहाँले जानकारी दिनु भयो ।
मंगलबार उद्घाटन खेल रुपन्देही जिल्ला भलिबल र पाल्पा जिल्ला भलिबलका बिच हुने आयोजकले बताएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation