
कपिलवस्तु । मंसिर २१ गते देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको तयारी तिव्र गतिमा भैरहेको सोसाईटिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार खाँणले रेडियो हर्टविट सङ्ग बताउनुभएको छ ।
युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सवको तयारिलाई २१ गतेभन्दा केहिदिन अगाडि नै सम्पन्न गर्नेगरि काम गरिरहेको उहाँले बताउनुभयो ।
महोत्सवको तयारीको लागि अहिले गेट र स्टेज निर्माणको काम धमाधम भैरहेको छ । अहिलेको महोत्सवमा आकर्षणको लागि मुक्तिनाथ मन्दिरको झल्को दिने गरि गेट निर्माण गरिदैछ । त्यस्तै अहिले बाल उद्धान सङ्ग सम्बन्धीत विभिन्न मनोरन्जनको साधनहरु ल्याएर तयार पारिदै छ ।
यसैबिच यस वर्षको महोत्सवको टिकट दर सस्तो बनाइएको छ । दर्शकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०÷१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अन्य सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको छ । संयोजक खाँणले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने निर्णय गरेको समते बताउनुभयो । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाए महोत्सव स्थलमा प्रवेश पाउने उहाँले बताउनुभयो ।
यस्तै यस वर्षको महोत्सवमा दर्शकहरुको मनोरन्जनको लागि १२ औैं कपिलवस्तु डान्स आइडल, चर्चित राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडीको रेसलिङ प्रतियोगिता, स्थानीय तथा राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती, स्थानीय कृषि उत्पादन, घरेलु तथा साना उद्योगको प्रदर्शनी, भिडियो जोन, वक्तृत्वकला प्रतियोगिता, आइटी तथा अटो क्षेत्रको प्रदर्शनी, बाल उद्यान, लुम्बिनीमा रहेको शान्ति दीप, विभिन्न झाँकी प्रदर्शनी तथा अन्य आकर्षकहरु महोत्सवमा रहने आयोजकले जनाएको छ ।