
कपिलवस्तु । भोलि विहिबार देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औधोगिक प्रदर्शनीको तयारी सम्पन्न भएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा मंसिर २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको तयारी सकिएको सोसाईटिका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक राजकुमार खाँणले उपकार अनलाइन सङ्ग बताउनुभएको छ ।
युवा स्वरोजगारको बलियो आधार उद्योग पर्यटन र कृषि क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा प्रोत्साहन’ भन्ने मूल नाराका साथ हुन लागेको महोत्सव लाई भब्य रुपमा सफल पार्नको लागि जिल्लाका हरेक क्षेत्रका व्यक्ति, संघसंस्थाहरुले सहयोग विश्वास लिएको संयोजक खाँणले बताउनुभयो । अहिलेको महोत्सवमा करिब २ लाख ५० हजार दर्शक उतार्ने बताउँदै करिव डेढ करोड रुपैया बराबरको आर्थिक कारोवार गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो ।
यसैबिच महोत्सवको उद्घाटन प्रतिनिध सभा सदस्य तथा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य चन्द्र भण्डारीले गर्नुहुने भएको छ । युवा पुस्तादेखि पुराना दुबै पुस्ता माझ लोकप्रिय बनेका भण्डारीलाई उद्घाटनका निम्ति आमन्त्रण गरेको महोत्सवका निर्देशक तथा बाणगंगा वेलफेयर सोसाइटीका महासचिव बुद्धि बहादुर रोकाहा (दिनेश) ले उपकार अनलाईन सङ्ग बताउनुभयो ।
यसैबिच यस वर्षको महोत्सवको टिकट दर सस्तो बनाइएको छ । दर्शकहरुको आर्थिक अवस्थालाई मध्यनजर गर्दै यस वर्ष १०/१० रुपैँया घटाएर विद्यार्थीहरुको लागि ४० र अनय सर्वसाधारणहरुको लागि ६० रुपैँया तोकिएको छ । निर्देशक क्षेत्रीले ७० वर्ष पुगेका जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निःशुल्क प्रवेश दिइने निर्णय गरेको समते बताउनुभयो । जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुले नेपाल सरकारको परिचय पत्र देखाए महोत्सव स्थलमा प्रवेश पाउने उहाँले बताउनुभयो ।