लुम्बिनीमा नेपाल-भारत सांस्कृतिक उत्सव, भारत र चीनको पक्की पुल बन्न चाहन्छौं : मन्त्री किराँती

रुपन्देही । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल दुई ठूला छिमेकी भारत र चीनबीचको पक्की पुल बन्न चाहेको बताएका छन् ।

भारतीय दूतावासले बुद्धजन्मस्थल लुम्बिनीमा आयोजना गरेको भारत–नेपाल साँस्कृतिक उत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले आर्थिक रुपमा सबल रहेका दुई छिमेकी देशसँग नेपालको ऐतिहासिक सम्बन्ध रहेकाले आफूहरु पक्की पुल बन्न चाहेको बताए ।

‘यो देश गौतबुद्ध र सगरमाथाको हो, यो देश सीताको पनि हो, भृकुटीको पनि हो । हाम्रो चेली भृकुटी चीनतर्फ गइन्, सिता छिमेकी भारततर्फ गइन्, त्यसैले हाम्रो सम्बन्ध आजको होइन, इतिहासदेखिको हो’ मन्त्री किराँतीले भने ।

नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको उपस्थितिमा भएको कार्यक्रमा मन्त्री किराँतीले लामो समयदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको हवाई रुटका विषयमा भारत सकारात्मक नभएकोतर्फ संकेत गर्दै हवाई रुटमा पुर्नविचार गर्न आग्रह गरे । ‘नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हवाई रुटका सन्दर्भममा महामहिममार्फत फेरी नेपाली जनताको तर्फबाट आग्रह गर्दछु, पुर्नविचार गरियोस्, सम्बन्धित निकायमा पुगोस् हाम्रो अपेक्षा छ’, उनले भने ।

उनले भारतीय दूतावासले लुम्बिनीमा गरेको साँस्कृतिक कार्यक्रमले नेपाल र भारतबीचको इतिहासदेखिको सम्बन्ध थप प्रगाण र पर्यटकीय हिसाबले पनि महत्वपूर्ण बनेको बताए ।

लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री किराँतीले लुम्बिनीको पर्यटनमा साँस्कृतिक कार्यक्रमले एउटा इँट्टा थप गरेको बताए । भारतसँग नेपालको सम्बन्ध राम र सीताको पालादेखि जोडिएको बताउँदै उनले साँस्कृतिक रुपमा नेपाल र भारत एक अर्काबीच इतिहासदेखि नै जोडिएको जनाए ।

‘रामको मात्रै कुरा गर्दा भारत अपूरो हुन्छ, सीताको मात्रै कुरा गर्दा नेपाल अपूरो हुन्छ’ मन्त्री किराँतीले अगाडि भने –‘बुद्धजन्मस्थल लुम्बिनीको मात्रै कुरा गर्दा नेपाल अपूरो हुन्छ, महापरिनिर्वाण र ज्ञान प्राप्तिको मात्रै कुरा गर्दा भारत अपूरो हुन्छ ।’ भारतको काशी नपुग्दा नेपालीहरुको तीर्थयात्रा अधुरो र भारतीयहरु पशुपतिनाथ र मुक्तिनाथ नआउँदा अधूरो हुने मन्त्री किराँतीले बताए ।

मन्त्री किराँतीले जलवायु परिवर्तन विश्वको साझा चुनौती बनेकाले हिमालय क्षेत्रमा देखापरेको पर्यावरणीय संकट जोगाउनतर्फ भारत सरकारले सहयोग गर्नुपर्ने खाँचो औंल्याए । उनले भारतीय सेनामा कार्यरत नेपाली सेनाका कारणले सम्बन्ध चिनी र पानीजस्तै गुलियो रहेको बताए ।

कार्यक्रममा लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तव, पूर्वमन्त्रीहरु हृदेश त्रिपाठी, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे), लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, स्वास्थ्यमन्त्री राजु खनाल, सामाजिक विकास मन्त्री सिके गुप्तालगायत निजी क्षेत्रका उद्योग व्यवसायीको जमघट रहेको थियो ।

नेपाली शास्त्रीय संगीत, थारु नृत्य र अन्य विभिन्न साँस्कृतिक प्रस्तुतीले कार्यक्रमलाई फरक पहिचान थपेको थियो । नेपाल र भारतबीचको सम्बन्ध युगौदेखि रहेको र लुम्बिनीको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले लुम्बिनी विकास कोषसँग सहकार्य गरेर साँस्कृतिक कार्यक्रम गरेको कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले जनाए ।

साँस्कृतिक कार्यक्रमसँगै मायादेवी मन्दिर परिसरमा भारतमा रहेका बुद्धिष्ट स्थलहरुको फोटो र मण्डलाको प्रदर्शनी गरिएको थियो । मण्डलाको सँस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्री किराँतीले उद्घाटन गरेका छन् ।

  

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation