यूएईमा जागिर लगाइदिन्छु भन्दै ८३ जनाबाट २ करोड ६३ लाख ठग्ने कोमलराज उपाध्याय पक्राउ

काठमाण्डाै । वैदेशिक रोजगारीमा लगाइदिने भन्दै दुई करोड ६३ लाख रुपैयाँ ठगी गर्ने कोमलराज उपाध्याय यूएईबाट पक्राउ परेका छन् ।

श्रीराम रानाभाटसहित ८३ जनालाई दुबईमा विभिन्न पदमा आकर्षक तलब हुनेगरी जागिर दिने भनेर दुई करोड ६३ लाख ५४ हजार रुपैयाँ ठग्ने उपाध्यायलाई इन्टरपोलको सहायतामा पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

दुबईमा त्रिनेत्र म्यानेजमेन्ट कन्सल्टेन्सी खोलेर बसेका सर्लाही जानकीनगर स्थायी ठेगाना भएका उपाध्यायले आकर्षक जागिर लगाइदिने भनेर ८३ जनालाई भिजिट भिसामा यूएई बोलाएका थिए । तर जागिर दिन नसकेपछि उनी फरार भएका थिए ।

उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजी गरेर पक्राउ गर्नका लागि नेपाल प्रहरीले गएको वर्षको वैशाखमा इन्टरपोल महासचिवालयलाई अनुरोध गरे पछि रेड नोटिस जारी भएको थियो । इन्टरपोलको सहयोगमा यूएईबाट पक्राउ गरी काठमाण्डौ ल्याइएका उपाध्यायलाई प्रहरीले काठमाण्डौ जिल्ला अदालतमा पेस गरेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation