मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँचजना पक्राउ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।  आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

उनले भने, ‘आन्दोलित युवाहरुको समूहले गाडीमा आगजनी गरेको हो, हामीले पाँच जना पक्राउ गरेका छौँ, मन्त्री ज्यूलाई प्रहरीले रेस्क्यु गरेर सिंहदरबार पुर्‍याएको छ।’ ग्वार्कोस्थित इपिएस कार्यालयमा युवाहरु बिहानदेखि भेला भएर आन्दोलन गरिरहेका थिए।

कोरिया भाषा परीक्षाका लागि सिप बिल्डिङमा अनुत्तीर्ण भएका १८ जना आवेदकहरूले मात्रै आवेदन दिन पाउने बताइएको थियो। उच्च अदालत पाटनको अन्तरिम आदेशपछि इपिएस कोरिया शाखा कार्यालय ग्वार्कोले सुरज पाठकसहित १८ जनालाई मात्रै आवेदन फाराम भर्नका लागि बोलाएको थियो।​​

सिप बिल्डिङमा करिब ३० हजारको हाराहारीमा युवाहरूले परीक्षा दिएका थिए। त्यसमा करिब ३९ सयको हाराहारीमा मात्र उत्तीर्ण भएका र बाँकी अरू सबैले आवेदन दिन पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए।

अन्यको हकमा भने इपिएस शाखाले पुस ६ मा  खुलाएको आवेदनमा करिब एक लाख ४३ हजार युवाले दरखास्त दिइसकेका छन्। उनीहरूको परीक्षाको मिति भने तोकिन बाँकी छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation