
बुटबल । लुम्बिनी प्रदेशमा बिहीबार एक दिनमै आठ सय ८४ वटा सवारीसाधन कारबाहीमा परेका छन्। प्रदेशका १२ वटा जिल्लामा चेकजाँचका क्रममा सवारी नियम उल्लंघन गर्ने ती सवारीसाधन कारबाहीमा परेका हुन् ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार सबैभन्दा धेरै सवारीसाधन कारबाही रुपन्देहीमा भएका छन्। रुपन्देहीमा बिहीबार एक सय ८२ वटा सवारीसाधन कारबाहीमा परेका छन्। यहाँ एक लाख ४८ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ।
ट्राफिक नियम उल्लंघन गर्ने एक सय ५१ सवारीसाधन बाँकेमा कारबाहीमा परेका छन्। ती सवारीसाधनबाट एक लाख १९ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ। त्यस्तै, कपिलवस्तुमा एक सय १३ वटा कारबाहीमा ७६ हजार रुपैयाँ राजस्व संकलन भएको छ। दाङमा एक सय १२ कारबाहीमा ८१ हजार रुपैयाँ संकलन भएको छ।
लुम्बिनी प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक नियमको पालना गराउन सचेतना कार्यक्रमहरू पनि निरन्तर सञ्चालन गरिएको कार्यालयले जनाएको छ। कार्यालयका अनुसार बिहीबार १२ जिल्लाका विभिन्न स्थानमा भएका ४५ वटा कार्यक्रमबाट दुई हजार एक सय ३१ जना लाभान्वित भएका छन्।