चार महिने अभियानले नागरिकमा आशा पलाएकाे छ : माओवादी

काठमाण्डाै । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले ‘जनतासँग विशेष रूपान्तरण अभियान’ ले नागरिकमा आशा पलाएकाे दाबी गरेको छ ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता अग्नि सापकोटाले चार महिने अभियानले पार्टीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको दाबी गर्नुभयो । उहाँले अभियानले टोल कमिटीदेखि समिति गठन, पुनर्गठन गरेको बताउनुभयो ।

प्रवक्ता सापकाेटाले अभियानले कार्यकर्तामा जागृति ल्याएको, चुनावको बेलामा मात्रै नभई माओवादी अरू बेलामा पनि आउँदा रहेछन् भन्ने आशा पलाएको जिकिर गर्नुभयो । अभियानले पुराना नेताहरू पार्टीमा फर्किएको र पार्टीमा प्रवेश गर्नेहरूको सङ्ख्या बढाउन उल्लेखनीय भूमिका खेलेको उहाँकाे भनाइ थियाे ।

उहाँले भन्नुभयो, ‘जनतासँग विशेष रूपान्तरण अभियान हामीले निर्धारण गरेको लक्ष्य र उद्देश्यमा सफल भएको छ । टोल कमिटीदेखि समिति गठन, पुनर्गठन भएको छ । कार्यकर्तामा जागृति आएको छ । नागरिकमा आशा पलाएको छ । यो अभियानले माओवादी चुनावको बेलामा मात्रै होइन अरू बेलामा पनि आउँदा रहेछन् भन्ने खालको नागरिकमा आशाका झिल्का पैदा भएको छ ।अभियानले गर्दा उल्लेखनीय सङ्ख्यामा पार्टी प्रवेश गर्नेकाे सङ्ख्या पनि बढेकाे छ । नागरिक हामीतिर फर्किएका छन् ।’

प्रवक्ता सापकोटाले अभियानले सदस्यता नवीकरण तीव्रताका साथ अघि बढाउन भूमिका खेलेको पनि बताउनुभयो ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation