लुम्बिनीमा विषयगत समितिको निर्वाचन माघको पहिलो हप्ता हुने

बुटवल । लुम्बिनी प्रदेशमा पुस १७ गते तोकिएको प्रदेश विषयगत समिति सभापतिको निर्वाचन माघको पहिलो हप्ता गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश सभाले त्यसका लागि आन्तरिक गृहकार्य गरेको छ ।

प्रदेश सभाका विषयगत समितिको निर्वाचन अन्तिम समयमा दलहरूको आग्रहमा सभामुख तुलाराम घर्तीमगरले १५ गते एक सूचना निकालेर अनिश्चितकालका लागि सारेका थिए । सभामुख घर्तीमगरले पुसको २५/२६  गते विषयगत समितिको सभापति पदका लागि निर्वाचन गर्ने  मनसाय बनाए पनि दलहरूको गृहकार्य नपुगेकाले माघको पहिलो हप्ता गर्ने योजना बनाएको बताए ।
उनले भने, ‘हामीले पुस अन्तिम हप्तातिर सभापति चयन गर्ने कि भन्ने योजना बनाएका थियौँ तर दलहरूको तयारी कम र थारु समुदायको महत्त्वपूर्ण चाड माघीले गर्दा अलि ढिला हुने भयो, सायद माघको पहिलो हप्ता निर्वाचन गर्ने गरी मिति तोक्ने छौँ ।’
लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापति भागबण्डामा चयन गर्ने तयारी गर्दै लुम्बिनी प्रदेश सभाले पुस १६ गते सभापतिको मनोनयन र १७ गते निर्वाचन गर्ने कार्य योजना सार्वजनिक गरेको थियो ।
तर मन्त्रिपरिषद् विस्तार गर्दा नेपाली कांग्रेसभित्र असन्तुष्टि भएपछि केही समयका लागि सभापतिको बाँडफाँटको विषयलाई सारिएको नेपाली कांग्रेसका एक प्रदेश सभा सदस्यले बताए ।

1 (4)

माओवादी लुम्बिनी प्रदेश प्रमुख सचेतक इन्द्रजित थारुले मुख्यमन्त्रीको आग्रहमा मिति सारिएको र दलहरूबिच अहिलेसम्म नयाँ मितिका बारेमा छलफल नभएको बताए ।

उनले भने, ‘भागबन्डा करिब मिलेको छ, केवल कुन व्यक्तिलाई सभापति दिने भन्ने हो । तर त्यसका लागि अहिले कुनै छलफल भएको छैन ।’

लुम्बिनीमा प्रदेशमा ६ वटा विषयगत समितिका अतिरिक्त एउटा विशेष अधिकार समिति छ । त्यसमा एमालेलाई दुई, माओवादीलाई विशेष अधिकार समिति र एउटा विषयगत समिति, नेपाली कांग्रेसलाई २ वटा समितिको सभापति दिने र एउटा समितिको सभापति साना दललाई दिने मोटामोटी सहमति भएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक तुलसी प्रसाद चौधरीले दलहरूबिच समितिका सभापति भागबण्डाबारे अनौपचारिक  कुराकानी भइरहेको तर औपचारिक बैठक बसेर मिति टुङ्ग्याउन बाँकी रहेको बताए ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेश सचेतक निमा गिरीले पनि  केही दिनभित्र सत्ता गठबन्धन दलहरूको बैठक बस्ने खुलाइन् । उक्त बैठकबाट सभापतिको चयनको मिति र अरू भागबण्डा टुङ्ग्याउने बताइन् ।

समितिका सभापति चयन गर्नका लागि  प्रतिपक्ष एमालेलाई पनि सहमतिमै लिएर अघि बढ्ने सोच सत्ता गठबन्धनको रहेको कांग्रेस सचेतक गिरीले बताइन् । -रातोपाटी

one

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation