यसरी पक्रउ परे ‘तपस्वी’ बम्जन

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठस्थित आफ्नै घरबाट आज साँझ ७ बजे पक्राउ परेका विवादित तपस्वी रामबहादुर बम्जनले प्रहरीबाट उम्किन अन्तिमसम्म प्रयास गरे।

कहिले जंगल त कहिले भारतमा लुकेर प्रहरीलाई छल्न सफल बम्जन अन्ततः कानुनी फन्दामा आइछाडे। पक्राउ पर्दा उनले दुई तलामाथिबाट हाम्फालेर भाग्ने प्रयास गरे तर घर घेरा हालेर छापा मारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली सामु यसपालि भने उनी निरीह बने।

उनीमाथि बलात्कार र व्यक्ति बेपत्ता पारेको आरोप छ। ५ जनाले जाहेरी दिएका अनुसन्धानमा खटिएका एक अधिकृतले बताए।

केही हप्ताअघि काठमाडौँ छिरेका थिए

सिआइबी स्रोतका अनुसार लुकीछिपी हिँडेका बम्जन केही हप्ताअघि काठमाडौँ छिरेका थिए। उनी काठमाडौँको बूढानीलकण्ठ क्षेत्रमा लुकेको सूचना प्रहरीले पाएको थियो।

बूढानीलकण्ठमा उनको घर छ। त्यही घरमा आएको मौकामा प्रहरीले उनलाई पक्राउ गरेको हो। विगतमा उनलाई नियन्त्रणमा लिन नसकेपछि प्रहरीले परिवारलाई निगरानी गरेको थियो। त्यही क्रममा उनी घरमा बसेको निश्चित भएपछि सिआइबीले आज साँझ ७ बजे पक्राउ गरेको हो।

प्रहरी आएको सुइँको पाएपछि बम्जन दुई तलामाथिबाट हाम्फालेका पक्राउ गर्न खटिएका एक प्रहरी बताउँछन्। घर घेरेर छापा मार्न पुगेको सिआइबी टोलीबाट भने यसपटक उनी फुत्कन पाएनन्। उनलाई पक्रन डिएसपी धर्मराज भण्डारीको नेतृत्वमा सिआइबी टोली पुगेको थियो।

यसअघि सिन्धुली आश्रममा छापा मार्न पुगेको सिआइबीलाई भने उनले छलेका थिए। उनलाई नियन्त्रणका लागि खटिएका एक प्रहरी अधिकृतले यसअघि सिन्धुली र मकवानपुरका वनमा लुकेर बसेको उनले नै बयान दिएका बताएका छन्। कुनै बेला भारत पुगेर लुकेकी उनले बताएकी ती अधिकृतले जानकारी दिए।

५ वर्षदेखि फरार

उनी ५ वर्षदेखि फरार सूचीमा थिए। उनीविरुद्ध २०७६ मा पहिलो पटक पक्राउ पुर्जी जारी भएको थियो तर बम्जन प्रहरीलाई छल्दै आएका थिए। विसं २०७७ मा उनीविरुद्धको एक चरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकीललाई बुझाइसकेको छ।

उनको सिन्धुलीमा ठूलो आश्रम रहेको छ। उनीविरुद्ध २०७३ सालमै आश्रममा आएका युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कार गरेको आरोप थियो। सोही आरोपमा उनीविरुद्ध उजुरी परेको थियो।

केहीलाई बेपत्ता पारेको आरोप पनि रहेको प्रहरी स्रोत बताउँछ। सर्लाही प्रहरीमा परेको उजुरीपछि उनी प्रहरीको खोजीमा परेका थिए। सिआइबीले समूह नै तयार पारेर बम्जनको खोजीमा लागेको थियो।

भोलि पत्रकार सम्मेलन गरेर उनका बारेका विवरण सार्वजनिक गर्ने तयारी सिआइबीको छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation