
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका ७ बयरकट्टी(रामनगर) मा निशुल्क आँखा शिविर र मधुमेह परिक्षण गरिएको छ। लायन्स क्लब अफ सैनामैना स्टारको आयोजनामा भएको कार्यक्रममा ४ सय २१ जनाले सेवा लिएको अध्यक्ष शिव प्रसाद पोख्रेलले जानकारी दिए।
१४५ औ मेल्भिन जोनेस डे को अवसरमा शिविर सञ्चालन गरिएको अध्यक्ष पोख्रेलले बताए। कार्यक्रममा बोल्दै प्रमुख अतिथि समेत रहेका सैनामैना ७ का कार्यवाहक वडा अध्यक्ष बालकृष्ण पौडेलले क्लबले सामाजिक उत्तरदायित्व अन्तरगत गरेको कार्यक्रमको प्रशंसा गर्दै वडा कार्यालयबाट सहयोग हुने प्रतिबद्धता ब्यक्त गरे। बुटवल अँखा अस्पतालको सालझण्डी शाखाका प्राविधिकहरुले परिक्षण गरेको कार्यक्रम संयोजक क्लबका द्वितीय उपाध्यक्ष जीवन घिमिरेले जानकारी दिए। आखा परिक्षण गराएका मध्ये १० जनाको शल्यक्रिया गर्नु पर्ने छ भने ३६ जनामा मधुमेह देखिएको छ ।
आखा परिक्षण गरि समस्या देखिएका १२८ जनालाई निशुल्क रुपमा आैषधी समेत प्रदान गरिएको जानकारी क्लवका कोषाध्यक्ष अमृत भण्डारीले जानकारी दिनुभयो । क्लवले आज(सनिवार) नै वातावरणीय सरसफाइ अन्तरगत सैनामैना ७ को वडा परिसरमा बिहान ८ बजे क्लबले नै लगाएका विरुवामा गोडमेल समेत गरेको क्लवका गणेश बेल्बासेले जानकारी दिनुभयो । आँखा शिविर तथा मधुमेह परिक्षण कार्यक्रम बयरकट्टी रामनगर टोलमा रहेको जनसेवा एकता युवा क्लवको भवनमा सम्पन्न भएको हो ।

