
काठमाण्डाै । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लब लगातार पाँचौँ खेलमा विजयी भएको छ । मूलपानीमा आज भएको खेलमा पुलिसले मधेसलाई ६ विकेटले हरायो ।
मधेसले दिएको ९७ रनको सामान्य लक्ष्य पुलिसले १८ ओभर ३ बलमा ४ विकेट गुमाएर भेटायो । पुलिसका सुनिल धमलाले २८ रन बनाए । मधेसका रञ्जित कुमार र अरनिकाे यादवले समान २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको मधेस २४ ओभरमा ९६ रनमा अल आउट भयो । मधेसका अरनिको यादवले २३ र कप्तान हरिशङ्कर शाहले २२ रन बनाए । पुलिसका सागर ढकालले ५ र ललित राजवंशीले ४ विकेट लिए ।
यस्तै कीर्तिपुरमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई ८ विकेटले हरायो । प्रतियोगितामा कोशीको यो लगातार आठौँ हार हो ।
कोशीले दिएको १ सय २४ रनको लक्ष्य सुदूरपश्चिमले २१ ओभर १ बलमा २ विकेट गुमाएर भेटायो । सुदूरपश्चिमका नरेन भट्ट ५४ र प्रकाश पाण्डे ३४ रनमा नट आउट रहे । कोशीका फिर्दाेश अन्सारीले २ विकेट लिए ।
यसअघि टस जितेर ब्याटिङ गरेको कोशी ३२ ओभरमा १ सय २३ रन बनाउँदा अल आउट भयो । कोशीका मीनाश थापाले २६ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ५ र विकाश आग्रीले ४ विकेट लिए । सुदूरपश्चिमले ५ खेलमा ८ अङ्क जोडेको छ । प्रतियोगितामा जितविहीन कोशी पुछारमा छ ।