
नवलपरासी पश्चिम । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाबाट तलब सुविधा लिने जनप्रतिनिधि, कर्मचारी, शिक्षकले आफ्ना छोराछोरीलाई अनिवार्य रूपमा सामुदायिक विद्यालय पढाउनुपर्ने भएको छ ।
चालु आर्थिक वर्षको नीति तथा कार्यक्रमअनुसार नगरका जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरूले आफ्ना सन्तानलाई आगामी शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयमा भर्ना गर्न अनिवार्य गरेको हो ।
‘समाज परिवर्तन गर्न जनप्रतिनिधि भएका र सरकारी कोषबाट तलब खानेले नै सामुदायिक विद्यालयलाई विश्वास नगरेपछि सर्वसाधारणले कसरी गर्ने रु,’ सुनवल नगरपालिकाका प्रमुख विमला अर्यालले भनिन्,‘हाम्रो नगरका सामुदायिक विद्यालय पनि अब्बल छन् । सुधार गर्दै जाने हो । त्यसैले नगरको कोष मार्फत तलब भत्ता खाने सबैलाई सामुदायिक विद्यालयमा आफ्ना छोराछोरी भर्ना गर्न अनिवार्य गरेका हौँ ।’
नगरपालिकाभित्र ३५ वटा सामुदायिक विद्यालय छन् भने नगरपालिकाको कोषबाट तलब भत्ता तथा सेवासुविधा लिने ३ सय ६७ जना जना छन् ।