नारायणगढ–मुग्लिन सडक थप तीन हप्ता दिउँसो बन्द हुने

काठमाण्डाै ।  नारायणगढ–मुग्लिन सडक खण्ड थप तीन हप्ता दिउँसो बन्द हुने भएको छ । तुइन खोलामा पुल बनाउन चट्टान फोड्ने काम नसकिएपछि फेरि तीन हप्ता दिउँसो सडक बन्द गरेर काम गर्न लागिएको हो।

थप तीन हप्ता सडक बन्द गरेर काम गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार अब अन्तिम पटकका लागि तीन हप्ता सडक बन्द गरेर काम गर्न लागिएको हो  । यसअघि गएको पुस ७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम हुँदै आएको थियो । त्यतिबेला तीन हप्ता भनेर काम थाले पनि नसकिएपछि अर्को तीन हप्ता थप भएको थियो ।

दोस्रोपटक थपिएको तीन हप्ताको म्याद भोलि सकिँदैछ । यस अवधिमा पनि काम नसकिएपछि फेरि अर्को तीन हप्ता दिउँसो चार घण्टा ११ बजेदेखि ३ बजेसम्म सडक बन्द गर्न लागिएको हो ।  काठमाण्डौ बाहिरिने र भित्रिने मुख्य मार्गको रुपमा रहेको यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी गाडी आवतजावत गर्छन् ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation