जनतालाई सहज सेवा प्रदानका लागि रामपुरमा एकीकृत घुम्ती शिविर

पाल्पा । जनतालाई सहज सेवा प्रदानका लागि रामपुर नगरपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गरेको छ । स्वास्थ्य परीक्षणसँगै नगरपालिका कार्यालयबाट प्रवाह हुने सेवा सहितको शिविर सञ्चालन गरेको हो ।

वडा नं. १ को वडा कार्याल बाट शिविर शुभारम्भ गर्दै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई सार्थकता दिन र  नगरबासीको आवश्यकता तथा सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामान्य स्वास्थ्य जाँचका लागि पनि धेरै टाढा जानु पर्ने र अन्य सेवाका लागि नगरपालिकाको कार्यालय नै जानु पर्ने बाध्यतालाई बुझेर जनताको स्वास्थ्य जाँच र सेवामा सहजताका लागि शिविर संचालन गरिएको हो ।”

भूगोलका हिसावले टाढा रहेको वडा नं. १ र २ लाई मध्येनजर गर्दै पहिलो चरणमा वडा नं. १ मा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको र वडा नं. ९ र १० मा पनि क्रमश शिविर सञ्चालन गर्ने जानकारी दिनुभयो ।

शिविरबाट आँखा, कान, घाँटी तथा दन्त परिक्षण सहित अन्य स्वस्थ्य परिक्षण, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जिकरण सेवा, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशु सेवा लगायतका सेवा दिईएको प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले सेवामा नागरिकको सहज पहुँच वृद्धिका लागि शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो।

नगरपालिका कार्यालयबाट दुरी र पहुँचका हिसावले टाढा रहेका नगरबासीको लागि अन्य स्थानमा पनि शिविर संचालन गर्ने योजना रहेको रामपुर नगरपालिकाका प्रवक्ता कपिल बहादुर खाँणले बताउनुभयो । वडा नं. १ मा भएको शिविरबाट एकै दिन २ सय १९ जना सेवाग्राहीले सेवा लिएका छन् । जस मध्ये शिविरमार्फत् १ सय ५३ जनाले पशु सेवा, १ सय २९ जनाले कृषि सेवा, १ सय ६२ जनाले आँखा परीक्षण, ६३ जनाले दन्त परीक्षण, १ सय ३९ जनाले अन्य स्वास्थ्य परीक्षण, १ जनाले अपाङ्गता परिचयपत्र र ११ जनाले ज्येष्ठ नागरिक परिचय पत्र सेवा लिएको रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो ।

वडाबाटै सेवा प्राप्त गरेसँगै स्थानीयहरु खुशी भएका छन् । नगरपालिकाले बैंक भन्दा पर रहेका नागरिकहरुलाई सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको छ।

© 2026 Upakar Online All right reserved Design & Devloped By : Himal Creation