कपिलवस्तु । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बाणगङ्गामा ६ औं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आजदेखि चारनम्बर स्थित बुद्धरङ्गशालामा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले पछिल्लो समय नेपालले खेलकुद क्षेत्रमा पनि उल्लेखनीय विकास गरिरहेको भन्दै यसले राष्ट्रलाई विश्व माझ चिनाउन महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो । खेलकुदको विकासले राम्रो आर्थिक आम्दानी पनि गर्न सकिनेभएकाले बाणगङ्गाका विद्यालयले पनि खेल क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।
त्यस्तै जिल्ला समन्वय प्रमुख थानेश्वर घिमिरेले शारीरिक, मानसिक लगायत सर्वाङ्गिण क्षेत्रको विकासको लागि खेलकुद निक्कै महत्वपूर्ण हुने भएकाले विद्यालय बाटै यसको सुरुवात गर्नुपर्ने बताउनुभयो । जिल्लालाई खेलकुदको क्षेत्रमा अगाडि बढाउन यस्ता खेलले निक्कै महत्वपूर्ण सहयोग गर्ने बताउनुभयो ।
त्यस्तै कार्यक्रमका अध्यक्ष तथा बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बाणगंगालाई खेलको क्षेत्रमा जिल्लामै उत्कृष्ट बनाउने दाबी गर्नुभयो । ब्याक्तित्व विकास देखि देशलाई विश्व माझ चिनाउन खेलकुद क्षेत्र निक्कै महत्तवपूर्ण रहेकोले यसलाई शिक्षा सङ्ग जोड्न नगरपालिकाले यस्ता कार्यक्रम आयोजना गरेको बताउनुभयो ।
त्यस्तै स्वागत मन्तव्य राख्दै नगर प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले बाणगंगा नगर भित्रका हरेक विद्यालयमा कयौँ क्षमतावान विद्यार्थी खेलाडि रहेको भन्दै तिनिहरुलाई बाहिर ल्याउन प्रतियोगिताले महत्वपुर्ण सहयोग गर्ने बताउनुभयो ।
२५ गते सम्म सञ्चालन हुने प्रतियोगीतामा भलीबल, फुटबल, क्रिकेट, कबड्डी, विभिन्न मिटरका दौड, लगायतको खेल समावेश गरिएको नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले बताउनुभयो । प्रतियोगितामा नगर भित्रका ३४ विद्यालयहरुको सहभागिता रहेको पनि उहाँले बताउनुभएको छ ।
शिक्षा शाखा प्रमुख खिम बहादुर जि.सी. को सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष नगर खेलकुद विकासका पदाधिकारी, शिक्षक, विद्यार्थी लगायतको उपस्थिती रहेको थियो ।