मुलुकको दूधमा २० र मासुमा २४ प्रतिशत लुम्बिनी प्रदेशको योगदान

रुपन्देही । मुलुकको दुग्ध उत्पादनको क्षेत्रमा लुम्बिनी प्रदेशको योगदान २० प्रतिशत रहेको छ । त्यस्तै माछा मासुको क्षेत्रमा प्रदेशको योगदान २४ प्रतिशत रहेको छ । लुम्बिनी प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. प्रवेशसिंह कुँवरले कृषि तथा पशुपालनको क्षेत्रमा यो भन्दा अझै धेरै योगदान गर्न सकिने बताए ।

उनका अनुसार प्रदेशका १२ जिल्लामध्ये रुपन्देही र बाँकेमा दुध र मासु दुबैको उत्पादन बढी छ । दुधको आयातले यहाँका किसानलाई केही समस्या भएको पनि उनले बताए । उनले दूध तथा माछा मासुको उत्पादन बढाउनको लागि निर्देशनालय प्राथमिकता दिएर काम गरेको बताए ।

बुटवलमा सञ्चालित राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा सरोकारवालाबीच आयोजित अन्तरक्रियामा डा. कुँवरले प्रदेशमा किसान संख्याको तुलनामा प्राविधिक जनशक्ति कम रहेको बताए । उनकाअनुसार प्रदेशमा किसानको संख्या ५ लाख ८८ हजार ६५९ छ । त्यस्तै प्रदेशमा प्राविधिक जनशक्ति १ हजार ३२ जना मात्रै छन् ।

यसले एकजना प्राविधिक जनशक्तिले ५७० किसानलाई हेर्नुपर्ने वाध्यता रहेको बताउँदै आवश्यकता अनुसारको जनशक्ति सिर्जना गर्न र त्यसरी सिर्जना गरिएको दरवन्दीमा जनशक्ति पदपूर्ति गर्नुपर्ने उनको सुझाव छ । त्यति हुँदाहुँदै पनि चालु आर्थिक वर्षको ६ महिनामा किसानको घरघर पुगेर ३२ हजार पशुमा कृतिम गर्भाधान गराएको उनले जानकारी गराए ।

प्रदेशमा दूधको उत्पादन अघिल्लो वर्षको तुलनामा घटेको छ । साउन भदौसम्म गाईभैसीमा लम्पीस्किनको समस्याले गर्दा दूधको उत्पादन घटेको हो । तर अब लम्पीस्किनको समस्या सामान्य हुँदै गएको छ । त्यस्तै पशुचौपायामा देखिएको सबैभन्दा ठूलो समस्या खोरेत हो । त्यसको लागि पनि अब तत्कालै खोप लगाउने तयारी भएको डा. कुँवरले बताए ।

उनका अनुसार लुम्बिनीमा माछाको उत्पादन पनि राम्रो छ । नेपालमा २५२ प्रजातिका माछामध्ये लुम्बिनी प्रदेशमा अधिकांश माछा उत्पादन हुन्छ । मानिसको स्वास्थ्यको दृष्टिकोणले पनि माछा महत्वपूर्ण खाद्यबस्तु हो । माछाको उत्पादनसंगै त्यसको प्रशोधन र बजारीकरण पनि उत्तिकै महत्वपूर्ण रहेको उनले बताए ।

किसानलाई विमाको क्षेत्रमा पनि समस्या छ । कृषिलाई प्रवद्र्धन, लगानी आकर्षण र कृषिजन्य वस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्नको लागि कृषिमा विमाको अवधारणा ल्याइएको हो । तर यसबाट किसानलो लाभ भने लिन सकिरहेका छैनन् । नेपाल वीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालय प्रमुख पूर्णबहादुर थापाले सरकारले दिनुपर्ने अनुदानको पैसा नदिँदा भुक्तानीमा समस्या भएको बताए ।

कृषि बाली, जीवजन्तु र जडिबुटीमा विमा पोलिसी जारी गरी नेपालमा ४४ अर्ब ५१ करोड ६९ लाख रुपैयाँ बराबरको सम्पत्तिको विमा भएको उनले जानकारी गराए । जसबाट २ अर्ब १६ करोड ३७ लाख रुपैंयाँको विमालेख भएको उनको भनाइ छ । कृषि प्रणाली विग्रियो भने सबै प्रणाली विग्रिने भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख परवेज आलम बताउँछन् ।

उनले पशुबाट मानिसमा सर्ने रोग बढ्दै गएको बताए । उनका अनुसार मानिसमा हुने सुरुवा रोगमध्ये ७५ प्रतिशत पशुबाट सर्ने गरेको छ । नयाँ नयाँ जंगली जनावरको संसर्गमा बस्ने, मासुको असुरक्षित प्रशोधन तथा उपभोग, जनावरको टोकाईजस्ता कारणले पशुबाट मानिसमा रोग सर्ने गर्दछ । मासु प्रोटिनको लागि राम्रो स्रोत हो । तर त्यसको असुरक्षित उपभोगले मानिसमा धेरै रोगको जोखिम बढाइरहेको छ ।

उनी भन्छन् –‘रेविज लागेपछि मानिसको मृत्यु नै हुन्छ । त्यसकारण कुकुर, बाँदर, न्याउरीमुसा, स्याल, ब्वासोजस्ता जनावरले टोकेपछि अनिवार्य रेविज विरुद्धको खोप लगाउनुपर्छ ।’ त्यस्तै लामखुट्टेको टोकाईबाट डेंगु, जापनिज इन्सेफ्लाइटिसजस्ता रोग हुनसक्छ ।

त्यस्तैगरी कुखुराबाट वर्डफ्लु सर्नसक्छ । बंगुरको शरीरमा हुने टेपवर्म राम्रोसंग नपकाई खाँदा त्यो मानिसको शरीरमा प्रवेश गर्नसक्छ । उनका अनुसार एचआईभी एड्स पनि पशु (चिम्पान्जी)बाट नै मानिसमा आएको हो । पछिल्लो समय पशुबाट मानिसमा सरेको रोगले फोक्सोमा हानेको उनले बताए । वर्डफ्लू, स्वाइन फ्लू, कोरोना यसको उदाहरण हुन् । यस कारण यी सबै कुरामा सचेत भएर मासुको प्रयोग र ती जनावरको संसर्गबाट टाढै बस्नुपर्ने उनले सल्लाह दिए ।

जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईले पशुपालक तथा कृषि कर्म गर्ने किसान सबै क्षेत्रबाट मारमा परेको बताउँछन् । उनका अनुसार किसानले गरेको उत्पादन बेचविखनको लागि राम्रो बजार छैन, बेचविखन गरेको बस्तुको उद्योगले भुक्तानी दिँदैन, विमा कम्पनीले क्षेतीको दावी भुक्तानी गर्दैन । यस्तो देशमा कहाँबाट कृषिको प्रवद्र्धन हुनसक्छ ? उनले प्रश्न गरे ।

‘किसानलाई उत्साहित भएर काम गर्ने वातावरण नबनाउँदासम्म कृषि क्षेत्रको विकास हुन पनि सक्दैन भने आयात अझै बढेर जानेछ’ उनले भने–‘आयात प्रतिस्थापन र निर्यातको कुरा टाढा छ ।’

मेलास्थलमै प्राङ्गारिक खेती हालसम्मको प्रयास, उपलब्धी र अवको बाटो तथा जीवनाशक विषादी प्रयोग प्रभाव र विकल्प विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गरिएको छ । त्यस्तैगरी कृषि बस्तुको बजारीकरणको बारेमा सरोकारवालाबीच आइतबार छलफल गरिने छ । १४ गतेसम्म चल्ने राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा माटो परीक्षण तथा बाली परीक्षण शिविर पनि सञ्चालन गरिएको छ । -रातोपाटी अनलाइन 

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation