
जनकपुर । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले गठबन्धन आफैँ भित्रका समस्या र अन्तरविरोधले टुट्ने दाबी गरेका छन् । आइतबार जनकपुरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गठबन्धन भित्रका तमासाहरु आफूहरुले हेरिरहेको बताए ।
मुलुक सत्ता गठबन्धनको कारणले चौतर्फी संकटतर्फ गइरहेको उनको भनाइ छ । उनले शान्ति सुरक्षा, विकास निर्माण, सुशासन, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा गठबन्धनकै कारण मुलुकले गम्भीर समस्या झेलिरहेको जिकिर गरे । उनले समाजको अग्रगतिका लागि अहिलेको गठबन्धन प्रमुख बाधक भएको समेत आरोप लगाए ।
वर्तमान गठबन्धन कुनै सिद्धान्त, आदर्शबाट गठित गठबन्धन नभएको उनको भनाइ थियो । ‘गठबन्धन भित्रका तमासाहरु हामी देखिरहेका छौँ । त्यो कुन रुपमा विकसित हुन्छ हेरिरहेका छौँ । हामी त्यति रुचि र चाखका साथ गठबन्धनलाई हेरिरहेका छैनौँ । यो गठबन्धन आफैँ भित्रका समस्याहरुले, अन्तरविरोधले चर्मराइरहेको छ, उनले भने, कुनैपनि बेला टुट्न, फुट्न सक्छ ।
उनले गठबन्धनकै कारणले मुलुक चौतर्फी संकटतर्फ गइरहेको बताए । शान्ति सुरक्षा, विकास निर्माण, सुशासनका दृष्टिकोणले हेर्नुहोस्, रोजगारी र अन्तर्राष्ट्रिय सम्बन्धमा मुलुकले गम्भीर समस्या झेलिरहेको छ । यो समाजको अग्रगतिका लागि यो गठबन्धन प्रमुख बाधक हो, उनले भने, पछिल्लो दिनमा यो गठबन्धन आफैँ भित्रका अन्तरविरोध र समस्याहरुको भुमरीमा फसेको छ ।
उपाध्यक्ष पौडेलले देशलाई स्थिरता, विकास र समृद्धितर्फ लैजानका लागि अहिलेको गठबन्धन टुट्नु आवश्यक रहेको समेत बताए ।












