चुनावी मैदानमा चौधरी र थापा : कसले मार्ला बाजी ?

उपकार अनलाइन, सैनामैना ।
रुपन्देहीको सैनामैना मुर्गियामा रहेको पर्रोहा बहुमुखी क्याम्पसको सञ्चालक समितिको अध्यक्ष पदका लागि स्वतन्त्र युवा उम्मेदवार नेत्र थापा र नेकपा एमालेका नेता खुशिराम चौधरी चुनावी मैदानमा छन् । यहि २८ गते सोमवार अध्यक्ष पदमा चुनाव हुदैछ । क्याम्पस सञ्चालक समितिको अन्य पदमा भने एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्ष पदका उम्मेदवार थापाले शैक्षिक संस्थालाई राजनीति गर्ने थलो बनाइएको, दलहरुले भागबण्डा गरेर पालैपालो पद लिने तर काम नगर्ने परिपाटी रहेको, एउटै पदमा पुन दोहोरीन नहुने र अरुलाई अवसर दिएर काम गर्ने बातावरण सृजना गनुपर्ने भन्दै स्वतन्त्ररुपमा एमाले प्रदेश कमिटी सदस्य तथा क्याम्पसको सञ्चालक समिति अध्यक्ष खुशिराम चौधरीविरुद्ध उम्मेदवारी दर्ता गराएको जानकारी गराए । पर्रोहा वहुमुखी क्याम्पसमा एउटा संकाय मात्र चलाएर नहुने भएकाले अन्य संकायहरु थप्ने, दाताहरु खोजेर छात्रवृत्ति अक्षयकोषहरु स्थापना गरी विद्यार्थीलाई छात्रवृत्ति दिने लगायत काम गरी नमुना क्याम्पस बनाउन सक्ने भिजन आफुमा भएको थापाको भनाई छ । उनले शैक्षिक संस्थाको नेतृत्वमा दलका नेता आउन हुन्न स्वतन्त्र व्यक्ति आउनुपर्छ भन्ने धेरै विद्यार्थी र अभिभावकको मत रहेको दावी समेत गरे ।

अध्यक्ष पदका अर्का उम्मेदवार चौधरीले भने कोरोना महामारीका कारण सोचे जति काम गर्न नसकेको स्वीकार गर्दै क्याम्पसको भवन बनाउंदा लागेको ऋण तिर्नुपर्ने बीएचएम र बीबीए विषयको पढाई थप्ने तयारी भएकाले एक कार्यकाल दोहोरिएर क्याम्पसलाई उचाइमा लैजान चाहेको बताए ।

२०६७ सालमा स्थापना भएको क्याम्पसमा अहिले बीबीएस कक्षा मात्र सञ्ञचालन भइरहेको छ । ४ सय विद्यार्थी रहेको क्याम्पसमा ३८५ जना मतदाता रहेका छन् । दलिय हिसावमा नेकपा एमालेका उममेदवार खुशिराम चौधरी निकै बलिया छन् । नेपाली कांग्रेस सहितका अन्य दलको चौधरीलाई सपोट रहेको छ तर स्वतन्त्र उम्मेदवार नेत्र थापा भने एक्लै चुनावी मैदानमा छन् । केही हप्ता अघिको सैनामैना खानेपानीको चुनावमा जस्तै मत परिणम आउन सक्ने आकलन गरिएको छ । चुनाव कस्ले जित्ने यसै भन्न नसकिने अवस्था रहेको छ ।

क्याम्पस सञ्चालक समिति सदस्यमा मन्जु ज्ञवाली,सरस्वती पोखरेल पन्थी,चन्द्रकान्त पाण्डेय,धनबहादुर कार्की र प्रेमकुमार शर्माको एकल उम्मेदवारी परेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation