राष्ट्रिय सभाको अध्यक्षमा कांग्रेसले उम्मेदवारी दिने

बुटवल । नेपाली कांग्रेसले राष्ट्रिय सभाको अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा शनिबार बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। माओवादीसँग गठबन्धन हुँदा कृष्णप्रसाद सिटौलालाई अध्यक्षको उम्मेदवार बनाउने तयारी गरेको कांग्रेस सत्ता समीकरण बदलिएपछि अन्योलमा छ। सत्ता गठबन्धन फेरिनु अगावै माओवादीले पनि राष्ट्रिय सभा अध्यक्षमा दावी गरेको थियो । एमालेसंग गठबन्धनपछि एमालेले माओवादीलाई नै अध्यक्ष दिने सहमति गरेको छ ।

राष्ट्रियसभाको रिक्त रहेको अध्यक्षको निर्वाचन फागुन २९ गते हुँदैछ। गणेशप्रसाद तिमिल्सिना अध्यक्ष कायम रहँदै सार्वजनिक भएको राष्ट्रियसभाको क्यालेण्डरअनुसार नै अध्यक्ष निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ। फागुन २७ गते बस्ने राष्ट्रियसभाको बैठकमा अध्यक्षको निर्वाचनको मिति तोकिने, २८ गते मनोनयन दर्ता गर्ने र २९ गते निर्वाचन हुनेछ। राष्ट्रियसभाका निवर्तमान अध्यक्ष तिमिल्सिना ६ वर्षे कार्यकाल सकेर बिदा भएपछि यो पद खाली छ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation