एसइईको तयारी पूराः लुम्बिनीबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुँदै

बुटवल । भोली देखि सुरु हुन लागेको एसईई परीक्षाको तयारी लुम्बिनी प्रदेशमा पुरा भएको छ । भोली देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा यस बर्ष लुम्बिनी प्रदेशबाट ८३ हजार ४ सय विद्यार्थी सहभागि हुंदैछन् ।

शिक्षा तथा सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी माधव पोखरेलले यस बर्ष लुम्बिनी प्रदेशमा नियमित तर्फ साधारण धारका ७७ हजार ३६४ र प्राविधिक धारका २ हजार ९४६ गरी नियमित तर्फ जम्मा ८० हजार ३१० तथा ग्रेड वृद्धि तर्फ ३ हजार ९० गरी ८३ हजार ४०० जना परीक्षार्थी सम्मिलित हुने बताए ।

उनका अनुसार परीक्षा सञ्चालनका लागि १२ वटै जिल्लामा ३४० वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । परीक्षालाई मर्यादित, अनुशासित, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न सबै जिल्लाका परीक्षा समन्वय समितिबाट ३४० वटै केन्द्रमा केन्द्राध्यक्षको नियुक्ति भै जिल्लास्तरमा अभिमुखीकरण समेत निर्देशनालयले गरेको थियो ।

उनंले प्रदेशभर ३४० केन्द्राध्यक्ष, ५६७ सहायक केन्द्राध्यक्ष, ४ हजार १८४ निरीक्षक, ८३४ परीक्षा सहायक र १ हजार ६६८ कार्यालय सहायोगी गरी ७ हजार ५९३ परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि जनशक्ती परिचालन गरिएको बताए । साथै परीक्षालाई भयरहित र शान्तिपूर्ण बनाउन आवश्यक सुरक्षा व्यवस्था जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बल नेपालबाट गरिएको उनको भनाई छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation