अंग्रेज फौजलाई हराएको खुसीयालीमा जितगढी किल्लामा विजय उत्सव

बुटवल । बुटवलको जितगढी किल्लामा आजभन्दा २०९ वर्ष अघि नेपाल अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा नेपाली फौजले जित हासिल गरेको स्मरणमा बुटवलमा शुक्रबार विजय उत्सव मनाइएको छ।

विक्रम संवत् १८७१/७२ मा विश्व विजयको अभियान लिएर अघि बढेको आधुनिक हतियारसहितको अंग्रेज फौजलाई युद्ध कला र कौशलसँगै परम्परागत हतियारमा रहेको नेपाली फौजले वि.सं. १८७२ वैशाख ७ गते पराजित गरेको थियो ।
त्यही खुसीयालीको अवसरमा बुटवल उपमहानगरपालिकाले हरेक वर्ष बुटवलको जितगढीमा विजय उत्सव मनाउँदै आएको छ । बुटवल उपमहानगरपालिका परिसरबाट बाजागाजासहित निस्किएको झाँकी ¥याली पुल्चोक गणेश मन्दिर हुँदै जितगढी किल्लामा पुगेको थियो। गणेश मन्दिर परिसरमा गोरखाबाट पैदल यात्रा गरी आएको नेपाली सेनाको टोलीलाई स्वागत गरिएको थियो।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले जितगढी किल्लालाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्न र पर्यटक आगमनमा जोड दिन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै बुटवल नगर प्रमुख खेलराज पाण्डेयले बुटवलको जितगढी किल्लालाई महत्त्वपूर्ण सम्पदाका रूपमा प्रवर्द्धन गरिरहेको बताउँदै नेपाल अंग्रेज युद्धका नायक उजिरसिंह थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सङ्घ सरकारसँग माग गर्नुभयो ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation