लुम्बिनीमा बुद्ध जयन्तीको तयारी, प्रधानमन्त्रीलाई निमन्त्रणा

बुटवल । लुम्बिनी विकास कोषले ५६८औँ बुद्ध जयन्ती भव्य रूपमा मनाउने भएको छ । त्यसका लागि तयारी भइरहेको कोषले जनाएको हो ।

कोषका अनुसार जेठ १० गते बुद्ध जयन्ती एवं लुम्बिनी दिवस समारोह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा कार्यक्रम गर्नेगरी तयारी भइरहेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा खेन्पो छिमेले प्रधानमन्त्री प्रचण्डलाई भेट गरी औपचारिक रूपमा निमन्त्रणा गरेका छन् । कोषका कार्यकारिणी सदस्य श्याम रोक्काका अनुसार उपाध्यक्ष लामाले प्रधानमन्त्रीसहित गृहमन्त्री रवि लामिछानेलाई समेत भेट गरी बुद्ध जयन्तीका लागि निमन्त्रणा गरेको हुन् ।

बुद्ध जयन्ती एवं लुम्बिनी दिवसलाई व्यवस्थित बनाउन कोषले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ । कोषले बुद्ध जयन्तीलाई उत्सवका रूपमा मनाउन ९ वटा विभिन्न उपसमिति गठन गरेको छ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती एवं लुम्बिनी दिवस मनाउने गरिन्छ । बृहत्तर लुम्बिनी क्षेत्रअन्तर्गत तिलौराकोट, रामग्राम र देवहदमा पनि विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ ।

वि.सं. २००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता पाएपछि नेपालमा बौद्ध मार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेको इतिहास रहेको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation