गुजरातको राजकोटस्थित गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु

काठमाडौं । भातरमा एक गेम जोनमा आगलागी हुँदा २७ जनाको मृत्यु भएको छ। गुजरातको राजकोट सहरको मावारोडस्थित टिआरपी गेम जोनमा शनिबार आगलागी हुँदा २७ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

मृत्यु हुनेमा बालबालिकाहरू समेत छन्। गेम जोनमा आगलागी भएको खबर त्यहाँको प्रहरीले अपराह्न साढे ४ बजे पाएको थियो। त्यहाँ थुप्रै बालबालिका र उनीहरूका अभिभावकहरू थिए। अपराह्न साढे ४ बजे ग्राउन्ड फ्लोरबाट आगलागी सुरू भएको र केही बेरमै फैलिएको थियो।

प्रहरीले आगलागीको सूचना पाउनासाथ त्यहाँ दमकल परिचालन गरिएको थियो। आगलागी सुरू भएको तीन घन्टापछि मात्रै आगो नियन्त्रणमा आएको थियो भने ६ घन्टासम्म उद्धार कार्य चलेको थियो। समाचार संस्था इन्डियन एक्सप्रेसका अनुसार गेम जोनमा ७० देखि ८० जना मानिसहरू थिए। तीमध्ये २० जनाभन्दा बढीलाई सकुशल उद्धार गरिएको थियो।

मृत्यु भएकाहरूको शरीर पनि ढढेकाले उनीहरूको पहिचान हुन सकेको छैन। डिएनए परीक्षण गरी शव पहिचान गर्ने तयारी भइरहेको बताइएको छ। आगलागीको कारण अझै खुलेको छैन। गेम जोनमा निर्माणको काम चलिरहेकाले विद्युत सर्ट भएर आगलागी भएको आकलन गरिएको छ।

गेम जोन सञ्चालकलाई त्यहाँको प्रहरीले पक्राउ गरेको छ। घटनाको अनसुन्धानका लागि विशेष टोली समेत गठन गरिएको छ। गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले मृतकका परिवारलाई चार लाख रूपैयाँ र घाइतेहरूको उपचारका लागि ५० हजार रूपैयाँ दिने घोषणा गरेका छन्। घटनाप्रति राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीले दुख व्यक्त गरेका छन्।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation