बुटवलमा श्रमाधान मेला : रोजगारदाता र श्रमिक बीचको खाडल पुर्नेछ-मन्त्री अर्याल

बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल (डीपी) ले श्रमाधान मेलाले रोजगारदाता र श्रमिकको गहिरो खाडललाई पुर्ने बताएका छन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय र बुटवल उपमहानगरपालिकाको आयोजनामा बुधबारदेखि बुटवलमा शुरू लुम्बिनी प्रदेशस्तरीय श्रमधान रोजगार मेलाको उदघाटन गर्दै मन्त्री अर्यालले यस्तो बताएका हुन् ।

नेपालमा रोजगारी नपाएकै कारण विदेश गएको गुनासो आएकाले कम्तीमा सातै प्रदेशबाट रोजगारदाता र श्रमिकलाई जोड्न श्रमाधान मेला राखिएको बताए । मेलामा विभिन्न क्षेत्रका रोजगारदाताहरूको उपस्थितिले रोजगारी प्राप्त हुने वातावरण बनाउने विश्वास लिए । मन्त्री अर्यालले छोटो समयमा केन्द्र, प्रदेश र स्थानीय सरकारसँग मिलेर एउटा प्रयास गरिएको बताए । उनले सामाजिक सुरक्षा कोष मार्फत श्रमिकलाई स्वास्थ्य बिमाको समेत सुविधा प्रदान गरिएको बताए । उनले मेलाले तत्काल रोजगारी प्रदान नगर्ने तर, रोजगारीका लागि अवसरहरू सृजना गर्ने दावि गरे ।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले कमाउँदै पढ्ने वातावरण बनाउन नसक्दा विदेश पलायन रोक्न नसक्ने बताए । २० वर्ष समय लगाएर डिग्री अध्ययन गरेकाहरू बेरोजगार हुने र एक वर्ष सीप सिकेका रोजगारी पाउने अवस्था रहेको उनले बताए । उनले शिक्षा प्रणालीलाई सुधार गर्नुपर्ने बताए । ुत्रिविको दीक्षान्त समारोहमा दीक्षित भएकाहरूमध्ये ९० प्रतिशत बेरोजगार हुन्छन, यस्तो अवस्थाको अन्त्य गर्नुपर्छु उनले भने ।

जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाईले शिक्षा र रोजगारलाई जोडेर लैजानुपर्ने सुझाव दिए । नेपालमा शिक्षाकै कारण युवाहरू ३० वर्षसम्म अध्ययनमै सीमिति हुनुपर्ने समस्याले युवाहरू विदेश जान थालेको उनले बताए । उनले रोजगारी सृजनाका लागि मेला र भेलाले मात्रै काम नगर्ने बताउँदै नीति बनाउन सुझाव दिए ।

यस्तै तुल्सिपुर उपमहानगरपालिका नगरप्रमुख टिकाराम खड्काले वैदेशिक रोजगारमा जान नपर्ने गरि श्रमिकमैत्री ऐन निर्माण गर्नुपर्ने बताए । उनले आगामि दिनमा उद्यमीहरूको प्रवर्द्धन र मजदुरमैत्री नीति निर्माण गर्नुपर्ने बताए । उनले स्वदेशमै रोजगारी सृजना गर्न रोजगारदाता र श्रमिकलाई जोड्न सफल हुने विश्वास दिलाए ।

बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बीआईसीसी)मा आयोजित मेलामा ४० वटा स्टल छन् । जसमा बायोडाटा निर्माण, सिकाईसम्बन्धी उद्योग व्यवसाय तथा रोजगारदातासँग सम्बन्धित स्टलहरू वैदेशिक रोजगार कल सेन्टरलगायत सरकारी तथा निजी क्षेत्रका स्टलहरू मेलामा राखिएको छ । मेला भोलिसम्म चल्नेछ । देशका सातै प्रदेशमा हुने श्रमाधान रोजगार मेला बागमती प्रदेशको ललितपुरमा ३० जेठमा समापन हुनेछ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation