एमाले रुपन्देहीको अध्यक्षमा यज्ञ गैरे सर्वसहमत चयन, औपचारिक घोषणा हुन बाँकी

भैरहवा । नेकपा (एमाले) जिल्ला कमिटी, रुपन्देहीको जारी १० औं अधिवेशनमा नयाँ नतृत्वका लागि सहमति नजिक पुगेको छ । अधिवेशनमा सहभागी एक प्रतिनिधिका अनुसार अध्यक्षका लागि यज्ञ गैरे, उपाध्यक्षमा हितराज पन्थी र सचिव पदमा चित्रबहादुर कार्की, उप सचिवमा बाबुराम पन्थी र महिला तर्फको उप सचिवमा सुनिता ठठेर हुने गरि सहमतिमा पुगेको हो ।

अधिवेशन अन्तरगत हाल मनोनयन दर्ता भैरहेको छ । सदस्य पदका लागि सुद्धोधन गाउँपालिका, सियारी गाउँपालिका, सम्मरीमाई गाउँपालिका, रोहिणी गाउँपालिका, मायादेवी गाउँपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट सर्वसहमतिमा चयन भएका छन् भने अन्य पालिकाहरुमा पनि सहमतिको प्रयास जारी रहेको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । निर्वाचनको सम्पूर्ण प्रक्रिया भने पूरा हुन र घोषणा हुन बाँकी रहेको छ ।

जिल्लाका १६ वटा पालिका र १५५ वडा, २३ जनसंगठनबाट र आयोजक कमिटीबाट गरी ८५३ जना प्रतिनिधि चयन भइ अधिवेशनमा सहभागी भएका छन् । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव, २ उपसचिव र १४५ सदस्य रहेको जिल्ला कमिटी निर्वाचित गर्ने एमाले रुपन्देहीले जनाएको छ ।

© 2024 Upakar Online All right reserved Design & Devloped By : Himal Creation