भैरहवा । एसियाली विकास बैक (एडीबी), नेपाल सरकार र रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको संयुक्त लगानीमा सञ्चालन हुन लागेको युआरएलआईपी योजना अन्तरगतका विभिन्न सहरी सडक निमार्णका लागि नगरपालिका र निर्माण व्यवसायीबीच सम्झौता भएको छ । १ अर्ब १८ करोड लागतको उक्त योजनामा बिहीबार सिद्धार्थनगर नगरपालिका र निर्माण कम्पनी ईकेके ईनफ्रास्टचर लिमिटेड भारतबीच सम्झौता भएको हो ।
सम्झौतापश्चात कार्यदेश पाएको ९ सय दिनभित्र निर्माण कम्पनीले योजना सम्पन्न गरिसक्नुपर्नेछ । यो योजना अन्तरगत नाला, फुटपाथ, सेफ्टी रेलीङ्ग, खानेपाली, बिजुली, स्टेटलाईट, सडक कालोपत्रे, आरसीसी ढलान तथा नगर सुन्दरीकरणका लगायतका काम हुने सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खाँले जानकारी दिए । उनले यो योजनालाई नगरको गौरवको आयोजनाको रुपमा लिइएको र समयमै सम्पन्न गर्नको लागि निर्माण कम्पनीलाई आग्रह समेत गरे ।
एडीबीको ऋण लगानीमा ७५ प्रतिशत नेपाल सरकारको अनुदान, १८ प्रतिशत नगर विकास कोष र नगरपालिकाको ऋण सम्झौता तथा बाँकी ७ प्रतिशत नगरपालिकाको आन्तरिक स्रोतबाट लगानी हुने नगरपालिकाका योजना शाखाका इञ्जिनियर साकार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यसअघि एडीबीका आईयूडीपी र आरयूडीपीका योजना सफलतापूर्वक सम्पन्न गरेपश्चात नगरपालिकाले यो तेस्रो चरणको योजना सुरु गरेको हो । अघिल्ला दुई योजनाको उत्कृष्ट व्यवस्थापन गरेवापत नगरपालिका पुरस्कृत समेत भएको थियो ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले नगरपालिकाको अथक प्रयासले गर्दा अन्य पालिकामा भन्दा यहाँ ठेक्का प्रक्रिया छिटो भएर योजना लागू हुने चरणमा पुगेको उल्लेख गरिन् । उनले निर्माणको क्रममा पनि नगरपालिकाले पूर्ण रुपमा सहजीकरण गर्ने बताइन् ।
एडीबीको ऋण लगानीमा हुने युआरएलआईपी योजना रुपन्देहीका सिद्धार्थनगरसहित तिलोत्तमा, देवदह, सैनामैना र लुम्बिनी साँस्कृतिक नगरपालिकामा पनि आएको छ । तर, ती पालिकाहरुमा यो योजना अहिले अध्ययनकै क्रममा छ भने सिद्धार्थनगरमा ठेक्का सम्झौतासम्मको चरणमा आएको हो ।
यो योजना अन्तरगत विभिन्न २७ वटा सडकतर्फ साढे २३ किलोमिटर बढी लम्बाईका सडक निर्माण हुनेछ । सडकतर्फ खास गरी सुगरमिल, सुकुनी पथदेखि डण्डा कोरीडोर जाने सडक, भिमकाली पथ, दुर्गा कलोनीका भित्री सडकहरु निर्माण हुनेछन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले सम्झौतापश्चात एक–दुई महिनाभित्र नै यो योजना कार्यान्वयनको चरणमा जाने बताए । उनले यो योजना पूरा हुँदा नगरको विकास धेरै अगाडि बढ्ने बताए । धेरै मेहनत गरेर नगरको रणनीतिक योजनालाई समयमै सुरु गर्न सफल भएको समेत उनले बताए । निर्माण कम्पनी ईकेके ईनफ्रास्टचर लिमिटेडका प्रतिनिधि विक्रम गौतमले नगरको गौरवको योजनालाई आफूहरुले समयमै पुरा गर्ने प्रतिवद्धता जनाए ।