पाल्पाको रामपुरमा दोस्रो किङ्स कप भलिबल प्रतियोगिता हुने

विमल गैरे, रुपन्देही ।
पाल्पाको रामपुरमा दोस्रो किङ्स कप भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । किङ्स क्लब रामपुर, पाल्पाको पहिलो वार्षिकोत्सबको अवसरमा उक्त प्रतियोगिता आयोजना गर्न लागिएको हो । जसको सह–आयोजकमा श्री भम्बक युनाइटेड क्लब रामपुर, पाल्पा रहेको छ ।

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मूलमन्त्रका साथ दोस्रो किङ्स कप खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता यहि पौष २४ गते देखि सुरु हुने छ । प्रतियोगिता रामपुर भम्बक खेलमैदानमा पौष २७ गते सम्म सञ्चालन हुने आयोजकको भनाइ छ । प्रतियोगितामा राष्ट्रिय स्तरमै उत्कृष्ट भलिबल खेल प्रदशन गरेका खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगिताका खेल संयोजक लक्ष्मण मल्लका अनुसार प्रतियोगिताको तयारी सुरु भएको छ । “यस प्रतियोगिताले युवापुस्तालाई खेलकुदप्रति आकर्षित गर्नुका साथै भलिबल खेललाई थप लोकप्रिय बनाउन मद्दत गर्नेछ । हाम्रो उद्देश्य खेलाडीहरूको प्रतिभा उजागर गर्ने र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने हो,“ संयोजक मल्लले भन्नुभयो ।

आयोजक संस्था किङ्स क्लबका अध्यक्ष योगेन्द्र हमालले भन्नुभयो “दोस्रो किङ्स कप खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताले पाल्पाको खेलकुद क्षेत्रको विकासमा योगदान पु¥याउनेछ । हामीले यस प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन हरेक उपाय अपनाएका छौं । खेलाडीहरूलाई प्रेरित गर्न यस्ता प्रतियोगिता अत्यन्तै महत्वपूर्ण छन् ।“

प्रतियोगितामा आमन्त्रित ८ टोलीहरूको सहभागिता रहनेछ । विजेताले १ लाख १ हजार १ सय ११ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ, उपविजेताले ६६ हजार ६ सय ६६ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्दा तृतिय र सान्तवना हुनेले क्रमश ४४ हजार ४ सय ४४ र २२ हजार २ सय २२ मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यस्तै विभिन्न विधागत तर्फ पनि उत्कृष्ट खेलाडीहरुलाई लाई नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
आयोजकले खेलप्रेमीहरूलाई प्रतियोगिता अवलोकन गर्न रामपुरमा उपस्थिति जनाई खेलाडीहरूलाई प्रोत्साहन गर्न आग्रह गरेका छन् । साथै प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्नको लागि आर्थिक, नैतिक र भौतिक रुपमा जोडिएर सहयोग गरिदिनु हुन समाजसेवी, व्यावसायिक, सरकारी तथा गैरसरकारी संघ संस्थाहरुलाई सहयोगको लागि अपिल समेत गरेको छ ।
रामपुर, पाल्पामा आयोजना हुन लागेको यो प्रतियोगिताले भलिबल खेलको विकासमा नयाँ उचाइ थप्ने विश्वास गरिएको छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation