सैनामैना दुधराक्ष कपः चौथो दिन गण्डकी र पुलिस विजयी

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा जारी दोस्रो संस्करणको सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा चौँथो दिन दुई खेल सम्पन्न भएका छन् । सोमवार भएको पहिलो खेलमा गण्डकी प्रदेश भलिबल क्लब तथा दोस्रो खेलमा नेपाल पुलिस क्लबले जित हात पारेका छन् ।

समुह चरणको पहिलो खेल खेलेको गण्डकीले कोशी प्रदेश भलिबल क्लबलाई ३-१ को सेटमा हराउँदै जित निकालेको हो । गाण्डकीले पहिलो सेटमा २६-२४ ले हारेपनि दोस्रो सेटमा कोशीलाई २५-२१, तेस्रो सेटमा २५-१६ तथा चौँथोे सेटमा २५-१४ ले हराउँदै खेलमा पुनरागमन गरेको थियो ।

यो हारसँगै तीन खेलमा हार ब्यहोरेको कोशी प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ । कोशी प्रतियोगिताको उद्घाटन खेलमा मणिमुकुन्द भलिबल क्लबसँग ३-०को सेझो सेटमा हारेको थियो भने दोस्रो खेलमा आईतबार गल्कोट भलिबल क्लबसँग ३-१ को सेट अन्तरमा पराजित भएको थियो ।

प्रतियोगिताबाट बाहिरिएको कोशीलाई आयोजक दुधराक्ष युवा क्लबले मायाको चिनो प्रदान गरि आजै बिदाई समेत गरेको छ ।

यता, आजै भएको दोस्रो खेलमा त्रिभुवन आर्मीलाई हराउँदै नेपाल पुलिस क्लबले प्रतियोगितामा दोस्रो जित हात पारेको छ । हिजो अर्को विभागीय टोली एपिएफलाई हराएको पुलिसले आज दोस्रो जित निकालेको हो ।

आर्मीलाई पुलिसले ३-१ को सेटमा हरायो । पहिलो सेट २५-१५ ले जिते पनि निरन्तरता दिन नसक्दा आर्मीले दोस्रो सेट २५-२३, तेस्रो सेट २५-१९ र चौँथो सेट २५-२० ले गुमायो ।

प्रतियोगितामा भोलि एक खेलमात्र हुँदै छ । भोल १२ बजे हुने खेलमा मणिमुकुन्द र गण्डकी प्रदेश खेल्नेछन् ।

तस्विरः जिके फोटो स्टुडियो, सैनामैना, कलौनी ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation