नेपाल फेस्टिवल दुबईमा : ५० हजारको सहभागिता, नेपाली संस्कृति विश्वभर गुञ्जियो

गीता अर्याल ।
“नेपाली कला, संस्कृति, खेलकुद, व्यापार, पर्यटन तथा नेपाली पहिचानको उत्सव” भन्ने मूल नाराका साथ आइतबार दुबईस्थित क्रिक पार्कमा सम्पन्न भएको नेपाल फेस्टिवल २०८१ एक ऐतिहासिक उत्सवमा परिणत भयो। आयोजकहरूका अनुसार, यो महाउत्सवमा ५० हजारभन्दा बढी दर्शकहरूको सहभागिता रह्यो, जसले युएईको भूमिमा नेपालीता मात्रै होइन, सिंगो नेपाललाई जीवित बनाए।

दुबईको क्रिक पार्कमा आयोजित उक्त कार्यक्रम नेपाली राजदूतावास, आबुधाबीको संरक्षकत्वमा, नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएई, नेपाली समाज युएई तथा युएईमा क्रियाशील विभिन्न संघसंस्थाको संयुक्त पहलमा सम्पन्न भएको हो। कार्यक्रममा युएईमा बसोबास गर्ने नेपालीहरू मात्र नभई अन्य राष्ट्रका दर्शकहरूको समेत उल्लेख्य उपस्थिति देखियो।

कला, संस्कृति र स्वादको महासंगम फेस्टिवलमा नेपालका मौलिक संस्कृति, भेषभूषा, खानपान, हस्तकला तथा लोकपरम्पराका झल्को दिने विविध प्रस्तुति देखिन्थ्यो ।नेपालका प्रमुख पर्यटकीय गन्तव्य प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएका एक दर्जनभन्दा बढी स्टलहरूमा परम्परागत परिकार, हस्तकलाका सामग्री, संस्कृति झल्काउने पहिरन र जानकारीमूलक सामग्रीहरू प्रदर्शित गरिएका थिए।

फेस्टिवलको उद्घोषण चर्चित कमेडियन तथा सञ्चारकर्मी सन्दीप क्षेत्री र पूर्व मिस नेपाल नायिका नर्मता श्रेष्ठले गरेका थिए। सांगीतिक कार्यक्रमको आकर्षणका रूपमा गायिका शान्ति श्री परियार, गायक अर्जुन सापकोटा, चक्र बम, एलिना चौहान र बमबहादुर कार्कीले एकपछि अर्को सजीव प्रस्तुति दिँदा हजारौँ दर्शकहरू रमाएका थिए। कार्यक्रममै विभिन्न जातजाति र समुदायका सांस्कृतिक झाँकीहरूले नेपालको सांस्कृतिक सम्पदा र विविधता झल्काए। परम्परागत पहिरन, बाजागाजा र लोकनृत्यले दर्शकहरूलाई नेपालमै भएको अनुभूति दिलाएको थियो।

कार्यक्रमको अन्त्यतिर दर्शकहरूको उत्साह चुलिएको थियो। कतिपय दर्शकहरू नेपालकै स्वाद, संगीत र मायाले भावुक हुँदै “यो दुबई हो कि नेपालरु” भन्ने महसुस गराइरहेका थिए।

नेपाल फेस्टिवलले प्रवासमा रहेर पनि देशप्रतिको माया, एकता र पहिचानलाई सशक्त ढंगले प्रस्तुत गर्न सफल भएको छ। नेपाल फेस्टिवलले नेपालीपन मात्रै झल्काएको छैन यसले नेपाली जहाँ छन्, त्यहाँ नेपाल बाँच्छ भन्ने कुरालाई पनि बुझाएको नेपाल पत्रकार महासङ्घ युएई शाखाका अध्यक्ष मेघराज सापकोटाले बताउनुभयो

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation