
सैनामैना । रुपन्देहीको सैनामैनामा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको पदस्थापना तथा सम्मान कार्यक्रम आइतबार सैनामैना-१० स्थित होटल मझेरीमा भव्यताका साथ सम्पन्न भएको छ। सैनामैना नगरपालिकाका प्रमुख फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको पदस्थापना कार्यक्रमले महिला नेतृत्वको भूमिका, पर्यटन प्रवर्द्धन र व्यवसायी हितका जोड दिएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथि शर्माले महिलाको नेतृत्वमा पारदर्शिता, प्रतिबद्धता र सशक्तता झल्कने कुरामा जोड दिए । महिलाको यो नेतृत्वले होटल व्यवसायीको हकहितमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गर्दै शुभकामना व्यक्त गरे ।
होटेल व्यवसायीहरुले सैनामैना आउने पाहुनालाई स्वच्छ र गुणस्तरीय आतिथ्यता सेवा प्रदान गरी यहाँका लोकल खानपानलाई ब्रान्डिङ गरि पर्यटकहरूलाई आकर्षित गर्नुपर्ने उल्लेख गरे ।
उनले भने, सैनामैना पर्यटनको सम्भावना बोकेको पालिका हो । धार्मिक एतिहासिक तथा पर्यटकिय सम्पदाहरु छन्, जहाँ पर्यटनहरुलाई आकर्षित गर्न ति पर्यटकिय क्षेत्रको अवलोकन गराई बसाई लम्ब्याउने खालका योजना ल्याउनु पर्नेछ जसले सैनामैनालाई एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्दछ र यहाँका व्यवसायीहरुको आयआर्जनमा वृद्धि हुनेछ ।
मेयर शर्माले होटल व्यवसाय पर्यटकसँग जोडिएकाले सैनामैनामा आउने पर्यटकलाई यहाँ धार्मिक स्थल बोलबम धाम, दुर्गा मन्दिर, मलमला मन्दिर, सिमसार क्षेत्र, लेडुवा पोखरी, एतिहासिक रानी कुवा, हिलपार्क, थारु होमस्टे लगायतका पर्यटन क्षेत्रका तस्बिरलाई मायाको चिनोको रुपमा अतिथिहरुलाई प्रदान गर्न आग्रह गरे । यसले सैनामैनाको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्नेछ ।
सैनामैना नगरपालिकाले यस वर्षदेखि ूघुमौं सैनामैना, रमौं सैनामैनाू भन्ने नाराका साथ अघि बढेको र यस अभियानमा होटल तथा रेष्टुरेण्ट व्यवसायी संघको सहभागिता अपरिहार्य रहेको पनि उनले औंल्याए ।
सैनामैना नगरपालिकाकी उपप्रमुख बिना रानाले समाजमा अझै पनि महिलाले केही गर्न सक्दैनन् भन्ने सोच कायम रहेको भन्दै संघले सो सोचलाई चिर्दै महिलाको नेतृत्वमार्फत उदाहरणीय कार्यको सुरुवात गरेको बताईन् । यसले अन्य क्षेत्रमा पनि महिला नेतृत्वलाई प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरिन् ।
संघका निवर्तमान अध्यक्ष झविन्द्र पोख्रेलले आफ्नो कार्यकालमा संघले व्यवसायीहरूको हकहितका लागि खेलेको भूमिका, स्थानीय सरकार र सरोकारवालाहरूसँगको समन्वय तथा विभिन्न चुनौतीहरूको सामना गरेको अनुभव सुनाए ।
उहाँले माया केसीको नेतृत्वमा रहेको नयाँ कार्यसमितिलाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सैनामैनाको होटल तथा रेष्टुरेण्ट व्यवसायलाई अझ उचाइमा पुर्याउनका लागि निरन्तर सक्रिय रहन आग्रह गरे ।
मानव अधिकार शान्ति समाज नेपालका पूर्व केन्द्रीय अध्यक्ष गोविन्द खनालले संघको नयाँ नेतृत्वलाई बधाई दिँदै व्यवसायीहरूको हकहितका लागि एकताबद्ध भएर काम गर्न आह्वान गरे।
संघका संरक्षक ढुण्डीराज न्यौपानेले संघको स्थापनादेखि वर्तमानसम्मको यात्राको स्मरण गर्दै नयाँ कार्यसमितिलाई सफलताको शुभकामना दिए। यस क्षेत्रको पर्यटन विकासमा र व्यवसायीक एकता कायम गर्न अभिभावकको भुमिका निर्वाह गर्दै अघि बढ्ने बताए ।
नवनिर्वाचित अध्यक्ष माया केसीले व्यवसायीहरूका साझा समस्याहरू समाधान गर्न र उनीहरूको व्यावसायिक सुरक्षा सुनिश्चित गर्न निरन्तर क्रियाशील रहने बताईन । साथै उहाँले आफ्नो कार्यकालमा संघलाई अझ सशक्त र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिन् ।
सोही अवसरमा पत्रकार अनिता चौधरीलाई संघ तथा व्यवसायीको हकहितमा जिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेबापत नगद सहित विशेष सम्मान गरिएको थियो। यो सम्मानले पत्रकारिता क्षेत्रमा व्यवसायी हितका लागि पुर्याएको योगदानको कदर गरेको छ।
माया केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत वरिष्ठ उपाध्यक्ष हुम प्रसाद घिमिरेले गरेका थिए भने कार्यक्रमको सञ्चालन कृष्ण भण्डारीले गरेका थिए।