पर्रोहा बोलबम धाममा भक्तजनको घुइँचो, मेयर पाण्डेद्वारा दर्शन

सैनामैना । लगातारको वर्षाको बावजुद पनि रुपन्देहीको सैनामैना–१ मा अवस्थित पर्रोहा बोलबम धाममा साउनको तेस्रो सोमबार हजारौं भक्तजनको घुइँचो लागेको थियो । बिहानैदेखि परेको अविरल वर्षालाई समेत बेवास्ता गर्दै भक्तजनहरूले शिवजीको दर्शन तथा पूजाआजा गरेका छन् । बोलबम मेलाका लागि टाढाटाढाबाट समेत जल चढाउन भक्तजनहरू धाममा पुगेका थिए ।

यस वर्षको साउन महिनामा पर्रोहा बोलबम धाममा भक्तजनको उपस्थिति अघिल्ला वर्षहरूभन्दा अझ बढेको देखिन्छ । गुरुपूणिर्मादेखि सुरु भएको श्रावणी मेला तथा जलापर्ण कार्यक्रम जनैपूर्णिमासम्म चल्ने छ । बोलबममा साउन महिनाभर विभिन्न देवस्थल तिर्थस्थलबाट पैदल यात्रा गरेर जल उठाई भक्तजनहरुले यहाँ ल्याई अर्पण गर्छन् । बिशेष गरी साउन महिनाको सोमबारका दिन पहेलो गेरुवावस्त्र धारण गरि, खाली खुट्टा बोलबमको मन्त्र जप्दै यात्रा गरी धामको पवित्र गंगाजल अर्पण गरेमा पुण्य प्राप्ती हुने, प्राकृतिक प्रकोप र रोग व्याधिबाट मुक्ति मिल्ने जन विश्वास रहेको छ ।

यसैबीच बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले पनि आज पर्रोहा बोलबम धाममा पुगेर पूजाअर्चना गरेका छन् । दर्शनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मेयर पाण्डेले धार्मिक आस्थाले मानिसहरूलाई एकताबद्ध गर्ने र यस्ता धार्मिक स्थलको संरक्षण तथा प्रवद्र्धनमा टेवा पुग्ने बताए । बुटवल उपमहानगरपालिकाले धार्मिक पर्यटनलाई प्राथमिकतामा राखेर अगाडी बढेको बताउदै बुटवलसँग जोडिएका छिमेकी पालिकबीच विकासका लागि अन्तरपालिका समन्वय निति बनाएर कार्य गर्दै उनको भनाई छ । धामलाई थप व्यवस्थित र आकर्षक बनाउन आवश्यक सहकार्य गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

धार्मिक आस्थाको केन्द्र मन्दिरको बिहान ४ बजेदेखि नै पूर्व र पश्चिम गेट खुला गरि दर्शन दर्शनाथीहरुको लागि व्यस्थापन गरिएको धामका अध्यक्ष चित्र बहादुर कार्कीले बताए । सहज रुपमा जल चढाउन सुरक्षा व्यवस्थाका लागि स्वयंसेवक, रेडक्रस, स्काउट, आमा समुह, क्लब र प्रहरी खटिएको बताए । पर्रोहा बोलबम धाम देशकै एक प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation