
विमल गैरे , सैनामैना ।
रुपन्देहीको सैनामैना–१, बनकट्टामा रहेको दुर्गा भवानी माध्यामिक विद्यालयले कक्षा १२ को बोर्ड परीक्षामा ८८.५२ प्रतिशतको उत्कृष्ट नतिजा प्राप्त गर्दै सैनामैना नगरमै प्रथम हुने ऐतिहासिक सफलता हासिल गरेको छ ।
यसै अवसरमा शुक्रवार विद्यालयले विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रम भव्यतापूर्वक सम्पन्न गरेको हो । कक्षा १२ को परिक्षामा सहभागि ६१ विद्यार्थी मध्ये ५४ जना विद्यार्थी सफल भएका थिए । सफल हुने विद्यार्थीलाई एक औपचारीक कार्यक्रमका विच प्रमाणपत्र र खादाले सम्मान गरिएको छ । यस्तै सत प्रतिशत नतिजा निकाल्न अहोरात्र खटिने विषय शिक्षक शिक्षिकालाई नगद सहित सम्मान गरिएको छ । सम्मान हुनेमा लेखनाथ खनाल, होम नाथ कंडेल, भीम बहादुर थापा, टंकप्रसाद चापागाईं, सीता खड्का के.सी , इन्दिरा पोखरेल, रीता पौडेल, सुरेन्द्र पौड्याल, संगिता सुवेदी रहनुभएको छ । यस्तै अतिरिक्त समय आएर अध्यापन गराउनुहुने कान्ति मावि वुटवलका शिक्षक राजन अर्याललाई समेत नगद सहित सम्मान गरिएको छ ।
विद्यार्थी तथा शिक्षक सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि सैनामैना वडा नं. १ का वडा अध्यक्ष भुवन बहादुर क्षेत्रीले दुर्गा भवानी माविले शिक्षा क्षेत्रमा दिएको योगदान उल्लेखनीय रहेको बताउनुभयो । सैनामैना १ लाई हेर्ने दृष्टिकोण फरक भएको भन्दै सैनामैना १ मै रहेका दुइ वटै सामुदायिक विद्यालय पहिलो र दोस्रो भएकोमा खुसी व्यक्त गर्नुभयो । यो नतिजाले हाम्रो वडा मात्र नभई सम्पूर्ण नगरको शैक्षिक स्तरको प्रतिष्ठा बढाएको र आगामी दिनमा पनि यस विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
विद्यालयका प्रधानाध्यापक तुल्सिराम शर्माले आफु गरे के हुदैन भन्ने विश्वास राख्ने बताउदै आज यो नतिजा आएको जानकारी दिनुभयो । अरुले आफ्नो विद्यालयलाई हेप्ने गरेको र फिरिमा पढायो भनेर कुरा काट्ने गरेको बताउदै अरु विद्यालयले भर्ना नलिएका विद्यार्थी, गरिवका छोरा छोरीले पढ्ने विद्यालयले आज नगर प्रथम र जिल्लामै उत्कृट नतिजा ल्याउनु सामान्य कुरा नभएको बताउनुभयो । शर्माले यो उपलब्धि अनुशासन, नियमित अध्ययन र गुणस्तरीय शिक्षण पद्धतिको प्रतिफल भएको समेत जानकारी गराउनुभयो ।
यता विद्यालय व्यवस्थापन सामितिका अध्यक्ष चिन्तामणी भुसालले यो सफलता शिक्षक, विद्यार्थी र अभिभावक सबैको सामूहिक परिश्रमको परिणाम भएको बताउनुभयो । भुसालले आगामी दिनमा समेत विद्यालयलाई नगरकै उत्कृष्ट बनाउने अभियानमा सबैको साथ र सहयोग निरन्तर रहोस् भन्ने अपेक्षा राख्नुभयो ।
कार्यक्रम शिक्षक होमनाथ कन्डेलको सञ्चालनमा सम्पन्न भएको हो । विद्यालय प्रशासनका अनुसार, आगामी वर्षमा यो उपलब्धिलाई अझै माथि पुर्याउने लक्ष्यसहित नयाँ शैक्षिक योजना अघि सारेको जनाएको छ ।












