सैनामैना नगर कांग्रेसद्वारा तोडफोड–आगजनीमा संलग्नमाथि तत्काल कारबाहीको माग

उपकार अनलाइन, सैनामैना । नेपाली कांग्रेस सैनामैना नगर समितिले मुलुकमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै भ्रष्टाचार नियन्त्रणको मागमा सुरु गरिएको जेन–जी पुस्ताको आन्दोलनप्रति समर्थन जनाएको छ ।

नगर समितिले जारी गरेको प्रेस विज्ञप्तिमा भदौ २३ गतेदेखि सुरु भएको प्रदर्शनका क्रममा राज्य पक्षको गोली प्रहारबाट युवाले ज्यान गुमाउनु परेको घटनाको घोर भर्त्सना गरिएको छ । विज्ञप्तिमा सहादत प्राप्त युवाप्रति श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना प्रकट गरिएको छ । साथै, घाइते युवाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचार र जीवन निर्वाह सुनिश्चितताका लागि आवश्यक पहल गर्न सरकारसँग माग गरिएको छ ।

तर, प्रदर्शनमा घुसपैठ गरेर सरकारी तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी र चोरीजस्ता गतिविधि भएका घटनालाई भने नगर समितिले निन्दनीय बताएको छ । यस्ता अराजक घटनामा संलग्न व्यक्तिलाई तत्काल कारबाही गर्न माग गरिएको छ ।

विज्ञप्तिमा हजारौं सहिदको बलिदानबाट प्राप्त लोकतान्त्रिक मूल्य र संविधानको संरक्षण गर्दै जेन–जी पुस्ताले उठाएका जायज मागलाई सम्बोधन गरी मुलुकलाई नयाँ गन्तव्यतर्फ अघि बढाउन आग्रह गरिएको छ ।

विज्ञप्तिमा नेपाली कांग्रेस सैनामैना नगर समितिका सभापति रण बहादुर खनालको हस्ताक्षर रहेको छ ।

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation