
उपकार अनलाइन, सैनामैना । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सैनामैना नगर समितिले भाद्र २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएको विद्यार्थी तथा युवा पुस्ताको “बर्बरतापूर्ण हत्या” र सार्वजनिक तथा व्यक्तिगत सम्पत्तिको अपूरणीय क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
नगर समितिले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा आन्दोलनमा सहादत दिने सबै महान् शहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “बिचौलिया दलालहरुको योजनामा केपी ओली नेतृत्वको दुईतिहाइ सरकारद्वारा मौलाएको भ्रष्टाचार र कुशासनविरुद्ध उठेको आन्दोलनप्रति हाम्रो पार्टीको पूर्ण ऐक्यबद्धता थियो र छ।”
यद्यपि आन्दोलनमा घुसेका अवाञ्छित तत्वले सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी गरेकाले देशलाई पछाडि धकेलेको समेत विज्ञप्तिमा उल्लेख छ। माओवादी केन्द्रले यस्तो गतिविधिको निन्दा गर्दै जेनजीको पवित्र उद्देश्यलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएको छ।
नगर समितिले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै व्यवस्था भित्रैबाट समस्याको समाधान खोज्न आग्रह गरेको छ। साथै शान्ति, सुरक्षा र सद्भाव कायम गर्न सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी व्यवसायी, बुद्धिजीवी, सञ्चारकर्मी तथा राष्ट्रसेवक कर्मचारीलाई संयमित रहन अपिल गरिएको छ।
विज्ञप्तिमा नगर समितिका अध्यक्ष मान बहादुर महत र सचिव राजेन्द्र घिमिरेको हस्ताक्षर छ।